नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरख बोगटीसहितका नेताहरू मंगलबार चीन जान लागेको विदेश विभाग सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए।
भ्रमण टोलीमा केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन्।
त्यस्तै मधेस प्रदेश कमिटीका उपसचिव मोहम्मद कैश, प्रधानमन्त्रीको सचिवालयकी रोशनी मेचेलगायत पनि भ्रमण टोलीमा रहेको श्रेष्ठले बताए।
उनकाअनुसार आगामी नोभेम्बर १३ देखि १७ (कात्तिक २८ देखि मंसिर २ गतेसम्म ग्लोबल साउथ थिंक ट्यांकको दोस्रो सम्मेलन हुँदैछ। त्यो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
त्यसपछि बेइजिङमा केही राजनीतिक भेटघाटहरू पनि हुने उनले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले औपचारिक रूपमा भ्रमणको निम्तो पठाएको छ।
चिनियाँ समकक्षी ली छ्याङले प्रधानमन्त्री ओलीलाई आगामी डिसेम्बर २–६ सम्मका लागि भ्रमणको निम्तो पठाएका छन्।