नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय संयन्त्रले ६ वटा निर्णय गरेको छ।
कांग्रेस प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई दलले एक-एक महिना पालोपालो संयन्त्रको संयोजन गर्ने निर्णय गरेको छ।
जसअनुसार २०८१ मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने एमालेका तर्फबाट संयन्त्रका सदस्य राजन भट्टराईले जानकारी दिए।
बैठकले संयन्त्रको सचिवालयमा कांग्रेस र नेकपा (एमाले) का तर्फबाट एकएक जना रहने पनि निर्णय गरेको छ।
बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने निर्णय भएको पनि भट्टराईले बताए।
संयन्त्रको बैठक महिनामा कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्नसक्ने निर्णय भएको पनि भट्टराईको भनाइ छ।
त्यस्तै दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौंडामा बस्ने तय भएको छ। त्यस दिन बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिइने पनि भट्टराईले बताए।
बागमती प्रदेश संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति बानियाँ, कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बहादुर सिंह तामाङ, पार्टी प्रदेश कार्यसमिति उपसभापति चन्द्र महर्जन छन्।
एमालेका तर्फबाट पार्टी प्रदेश इन्चार्ज भट्टराई, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल छन्।
यसअघि कांग्रेस र एमालेले संघीय सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै दुई दलीय संयन्त्र गठन गरेका थिए। उनीहरूले प्रदेश र स्थानीय तहसम्मै संयन्त्र बनाउने पनि निर्णय गरेका थिए।