नेकपा (एमाले) बागमती प्रदेश कमिटीले स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।
शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मानन्धरलाई नगर र काठमाडौं जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेर प्रदेश कमिटीमा पठाएका थिए।
एमालेले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ। हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा राजेश नगरकोटी उम्मेदवार बन्ने भएका छन्।
एमालेमा नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र महानगर तथा उपमहानगरका वडाध्यक्षका उम्मेदवार प्रदेश कमिटीले टुंग्याउने गर्छ।
कीर्तिपुर नगरपालिका-१ र ४, ककनी गाउँपालिका-२ मा पनि वडाध्यक्षको उपचुनाव हुँदैछ। कीर्तिपुर-१ मा हर्ष महर्जन, ४ को वडाध्यक्षमा बद्रि बुढाथोकीलाई उम्मेदवार बनाउने एमाले काठमाडौं जिल्लाले यसअघि नै निर्णय गरिसकेको छ।
ककनी-२ मा भने यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय नुवाकोट जिल्ला कमिटीले गरेको छ।
मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ पदमा उपचुनाव हुँदैछ। उम्मेदवारी दर्ता मंसिर २ गतेलाई तोकिएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम उम्मेदवार टुंग्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार आह्वान गरेको छ। एकभन्दा बढी आकांक्षी भए प्राइमरी इलेक्सनबाट उम्मेदवार टुंग्याउने उसको तयारी छ। एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन निर्देशन दिएको थियो।