त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको छ।
सो समस्या उत्पन्न भएपछि शुक्रबार परराष्ट्र मन्त्री आरजु राणा देउवाले हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन्।
आजदेखि विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घण्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती गरेका छन्। यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो।
परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरतसिहं भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री राणाले उनीहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गरेकी हुन्।
उक्त बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री राणालाई ज्ञापन पत्र दिएका थिए।
उनीहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताएका थिए।
'वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई महँगो टिकटका कारण समस्या परेको त छँदै छ, यो मारमा अरू पनि परेकाले धेरै गुनासो आएको छ,' उनले भनिन्, 'हवाई कम्पनीहरूले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्छ।'
नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन उनीहरूले आग्रह गरेका छन्। मन्त्री राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिएकी छन्
यस्तै, विमानस्थल मर्मत गर्ने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरूले अस्वाभाविक भाडा वृद्धि गर्न नहुने उनको भनाइ छ।
श्रम मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्ने समस्या भएता पनि यो राष्ट्रिय समस्या पनि भएको हुँदा समाधानका उपायहरूको खोजी गरिने बताए।
अर्का उड्डयन मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरूले आफूखुसी मूल्यवृद्धि गर्न नपाउने जिकिर गरे।
उनले विमानस्थल मर्मत पनि गर्नुपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परिस्थितिको समाधानका लागि विकल्पहरू खोजिने बताए।