नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनअपेक्षाअनुसार सरकार सञ्चालन भएन भने नयाँ कदम चाल्नुपर्ने बताएका छन्।
डडेल्धुरा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यक्रममा बोल्दै महरले सरकारले जनअपेक्षाअनुसार काम गर्दै निराशालाई आशामा बदल्न सक्नुपर्नेमा जोड दिए।
‘सरकारले हनिमुन पिरियड पार गरिसकेको छ। यसबीचमा भएका कामकारबाहीलाई समीक्षा गर्नुपर्छ। जनअपेक्षाअनुसार काम भए वा भएनन् पनि हेर्नुपर्छ,’ उनले भने, ‘किनभने सरकारका कामकारबाही कांग्रेसको प्रतिष्ठासँग पनि जोडिन्छ।’
कांग्रेसले सञ्चालन गरेको देशव्यापी अभियानमा सरकारका कामकारबाहीको समीक्षा पनि गरिनुपर्ने उनले बताए। ‘देशव्यापी रूपमा हामीले समीक्षा गर्दै जनअपेक्षाअनुसार काम भएका छैनन् भने नयाँ कदम पनि चाल्नुपर्ने हुन्छ,’ उनले भने।
कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका उनले स्वास्थ्य, शिक्षा नि:शुल्क हुनुपर्नेमा जोड दिए। देशका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मंसिर पहिलो साताबाट शिक्षासम्बन्धी सुझाव लिन कार्यक्रम गरिने उनले जानकारी दिए।