मोरङको धनपालथान गाउँपालिका-४ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थाका अध्यक्षसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सहकारीमा भएको बचत अपचलनबारे अनुसन्धानका लागि प्रहरीले सञ्चालक समितिका सदस्य र कर्मचारीहरूविरूद्ध पक्राउ पुर्जी लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इटहरीबाट पत्रको आधारमा उक्त सहकारीबारे अनुसन्धान सुरू गरिएको बताए।
'अनुसन्धान गर्नू भन्ने आशयको पत्र प्राप्त भएपछि हामीले अनुसन्धान सुरू गरेका हौं। सम्बन्धित व्यक्तिहरूविरूद्ध दसैँ तिहारबीचमै अदालतबाट पक्राउ पुर्जी लिएका थियौं,' डिएसी जोशीले भने।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकाहरूमा सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह छन्।
त्यस्तै सञ्चालक समितिका सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी धनपालथान–२ का जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्य सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छ।
अदालतबाट तिहारअघि नै प्रकाउ पुर्जी बुझेको भएपनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।
उनीहरूको खोजी भइरहेको डिएसपी जोशीले जानकारी दिए।
प्रहरी पीडित पक्षबाट जाहेरी पनि पर्खेको छ। सहकारी रजिस्ट्रारको कार्यालयबाट आएको पत्रका आधारमा पनि अनुसन्धान गर्न सकिन्छ तर पीडितबाटै जाहेरी आएको खण्डमा अझै बलियो हुन्छ,' उनले भने।
उक्त सहकारीमा १२ करोडभन्दा बढी रकम अपचलन भएको बताइएको छ।