कीर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन्।
महर्जनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
५५ वर्षीय महर्जन मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन लागेका हुन्।
‘कीर्तिपुरको मेयरमा मैले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेको छु,’ शुक्रबार दिउँसो सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘जित्छु भन्ने विश्वास छ।’
करिब १५ वर्षदेखि उनले कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका छन्। त्यसैले उनलाई कीर्तिपुरबासीले सरसफाइ अभियन्ता मान्छन्।
उनले लामो समयदेखि लहना रेष्टुरेन्टको प्रबन्ध निर्देशकका रूपमा पनि काम गरेका थिए।
आफूलाई कीर्तिपुरको मेयरमा धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि समर्थन रहेको उनले जानकारी दिए।
‘मेयर साम्पाङले तपाईंलाई मेरो समर्थन छ भन्नु भएको छ,’ उनले भने, ‘उहाँ कीर्तिपुर आउँदा कुराकानी भएको थियो।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका तर्फबाट पनि आफूलाई कुराकानीका लागि फोन आएको उनले बताए।
यो पनि: 'पैसाको चिन्ता छैन, बढार्दा-बढार्दै मर्न पाऊँ'