सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीचको दुई दलीय संयन्त्रले दुई वटा निर्णय गरेको छ।
मंगलबार बसेको पहिलो बैठकले दुई बुँदे निर्णय गरेको हो। यो संयन्त्र कात्तिक १५ गते बसेको दुई दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो।
संयन्त्रको बैठकले दुई दलले एक-एक महिना पालैपालो संयोजन गर्ने निर्णय गरेको छ। पहिलो महिनामा कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने निर्णय भएको हो।
त्यस्तै दोस्रो बुँदा प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग सम्बन्धित छ। प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा आगामी डिसेम्बरमा चीन भ्रमणमा जाँदैछन्।
चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले गर्ने निर्णय भएको छ।
संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने पनि उक्त बुँदामा उल्लेख छ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।
यो पनि: सरकारका काम प्रभावकारी बनाउन कांग्रेस-एमालेले बनाए संयन्त्र