सरकारका काम प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयन्त्र बनाएका छन्।
सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै गठन गरिएको संयन्त्रमा दुवै दलका पदाधिकारी सहितका नेताहरू छन्।
गत कात्तिक १५ गते प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संयन्त्र गठन गर्ने निर्णय भएको थियो।
संघ, प्रदेश र स्थानीय तहसम्मै दुवै दलका प्रतिनिधि रहने संयन्त्र बनाएर सबै तहका सरकार प्रभावकारी बनाउने कांग्रेस-एमालेबीच समझदारीअनुसार संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन समन्वय संयन्त्र बनाइएको नेताहरूको भनाइ छ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार यो संयन्त्रले दुइटा अनौपचारिक बैठकसमेत गरिसकेको छ। ‘दुवै दलको प्रतिनिधित्व रहेको संयन्त्र बनाइएको छ, दुइटा बैठक बालुवाटारमै भइसक्यो, यसलाई औपचारिकता दिन भने बाँकी छ,’ ती नेताले भने।
संयन्त्रको नेतृत्व आलोपालो गर्ने सहमति कांग्रेस र एमालेबीच छ। संयन्त्र सचिवालयका सचिव केशवराज जोशीका अनुसार संयन्त्रको संयोजन कांग्रेस-एमालेले पालैपालो गर्ने समझदारी बनेको छ। कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म संयन्त्रको संयोजन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि कांग्रेस-एमालेले सरकारका कामकाज प्रभावकारी बनाउन संयन्त्र बनाएको बताए।
उनकाअनुसार प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन हुनेछ। ‘प्रदेश र जिल्ला तहमा पनि तीन-तीन सदस्यीय संयन्त्र बनाउने तयारी छ,’ उनले भने।
गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। ओली दुई वर्ष र कांग्रेस सभापति देउवा चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र एमालेबीच भएको छ।
कांग्रेस र एमाले नेतृत्वमा संघदेखि प्रदेश सरकार गठन भएका छन्। संघीय र प्रदेश सरकारका कामकाजलाई प्रभावकारी र जनअपेक्षाअनुसार सञ्चालन गर्न संयन्त्रले काम गर्ने नेताहरूको भनाइ छ।
साथै दुई दलीय संयन्त्रले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई सफल बनाउन तयारी संयोजनको जिम्मा परराष्ट्र मन्त्री आरजु राणा देउवालाई दिने निर्णय पनि गरेको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको निर्देशनअनुसार संयन्त्रले चीन भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण पनि गर्नेछ।