नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बागमती प्रदेश महिला विभागकी सदस्य रहेकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति बर्मा लामाले सेतोपाटीलाई जानकारी दिए।
कांग्रेस विधानअनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षका लागि पार्टीको जिल्ला संसदीय समितिले नै टिकट दिन सक्छ। तर टिकटमा भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुनेछ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गौरीशंकरको उपाध्यक्षमा नेपाली कांग्रेसबाट श्यामसुन्दर तामाङ विजयी भएका थिए। हृदयघातका कारण उनको २०८० असारमा निधन भएदेखि उपाध्यक्ष पद रिक्त छ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ६ की पासाडिकी श्यामसुन्दरकी श्रीमती हुन्।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसले तत्कालीन सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको थियो। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका तामाङ विजयी भएका थिए।
तामाङ चार हजार सात सय ४१ मतसहित विजयी भएका थिए भने नेकपा (एमाले) की उम्मेदवार मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत ल्याएकी थिइन्।
यसपालि कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।