नेपाली कांग्रेसले मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ।
महासमिति बैठक र केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले निर्वाचनमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रन लागेको हो।
महामन्त्री गगन थापाले महासमितिमा पेस गरेको ‘हाम्रो आफ्नो संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौँ, र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं´ भन्ने प्रस्तावलाई गत भदौको केन्द्रीय समितिले अनुमोदन गरेसँगै गठबन्धन नगरी एक्लै चुनाव लड्ने नीति कांग्रेसले लिएको थियो।
२०७९ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले स्थानीय आवश्यकताअनुसार तालमेल गर्न सक्ने नीति लिएको थियो। त्यसबेला कांग्रेसले तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पद बाँडफाँट गरेर चुनाव लडेको थियो। त्यसबेला कांग्रेसले जितेका अधिकांश ठाउँमा यसपालि उपनिर्वाचन हुन लागेको हो।
महामन्त्रीसमेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले उपनिर्वाचन एक्लै लड्ने पार्टीको निर्णय रहेको जानकारी दिए।
‘हामी उपनिर्वाचनमा गठबन्धन गर्दैनौं, कांग्रेस एक्लै प्रतिष्पर्धामा उत्रन्छ,’ उनले सेतोपाटीसँग भने।
उपनिर्वाचन तयारीलगायत विषयमा छलफल गर्न शर्मा संयोजकत्वको समितिको बैठक बुधबार बस्नेछ।
कांग्रेसले मंगलबार (कात्तिक २०) गतेसम्म उम्मेदवारका आकांक्षीहरूका नाम सम्बन्धित कार्यसमितिमा पठाइसक्न मातहत समितिलाई निर्देशन दिएको थियो। जसअनुसार पार्टीका क्षेत्रीय कार्यसमितिदेखि सम्बन्धित कार्यसमितिहरूले माथिल्ला तहमा उम्मेदवारका आकांक्षीको नाम पठाइसकेका छन्।
मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखका लागि पनि उपनिर्वाचन हुनेछ।
साथै कीर्तिपुर नगरपालिका प्रमुख, दुइटा गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष, एक उपप्रमुख र वडाध्यक्षहरूका लागि उपनिर्वाचन हुन लागेको हो।
महामन्त्री शर्माका अनुसार आकांक्षी उम्मेदवारहरूको सूची सम्बन्धित कार्यसमितिमा आइसकेको छ। ‘सम्बन्धित समितिहरूले उम्मेदवार सिफारिस गरिसकेका छन्, यसमा केन्द्रीय समितिले निर्णय गरिराख्नुपर्दैन, समन्वय गर्ने हो,’ उनले भने।
कांग्रेस विधानअनुसार विभिन्न तहका उम्मेदवार सिफारिस गर्न बेग्लाबेग्लै संसदीय समिति रहने व्यवस्था छ। प्रतिनिधि सभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति रहने व्यवस्था छ।
नगरपालिका निर्वाचन उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश कार्यसमितिले गर्छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टिकटको निर्णय जिल्ला कार्यसमितिले गर्छ भने वडाको क्षेत्रीय कार्यसमितिले गर्नेछ। सबै तहका उम्मेदवारलाई दिने टिकटमा सभापति शेरबहादुर देउवाले नै हस्ताक्षर गर्नेछन्।
कांग्रेसमा यसपालिको उपनिर्वाचनका लागि उम्मेदवार हुन आकांक्षीको लर्को छ। एक ठाउँको वडाध्यक्ष पदका लागि पनि १२ जनाभन्दा धेरैको नाम सिफारिस भएका छन्।
कीर्तिपुर नगर प्रमुख उम्मेदवारका लागि पनि १२/१३ जना आकांक्षीहरूको नाम सिफारिस भएको छ। सबै नाम बागमती प्रदेश कार्यसमितिमा पठाइएको हो। सिफारिस भएका उम्मेदवारहरूको नाम भने कांग्रेसले सार्वजनिक गरिसकेको छैन।
सम्बन्धित कार्यसमितिहरूबाट सिफारिस भई आएका नामहरूमाथि व्यापक छलफल गरेर उम्मेदवारको टुंगो लगाउने तयारीमा कांग्रेस छ। कीर्तिपुर नगर सभापति कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, सरिश महर्जन, जमुना नकर्मी लगायतको नाम प्रदेशमा पठाइएको एक नेताको भनाइ छ।
२०७९ को निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए। त्यसबेला यहाँ कांग्रेसले जसपासँग चुनावी तालमेल गरेको थियो। उनको गत साउनमा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि यही मंसिर २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवार दर्ताको कार्यतालिका छ। त्यसअघि नै कांग्रेसले सबै उम्मेदवार टुंगो लगाउने बताएको छ।
मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ। साथै मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ।