नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले सुरेन्द्र मानन्धरलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।
शुक्रबार बसेको नगर कमिटीको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मानन्धरलाई उम्मेदवार सिफारिस गरेको हो।
एमालेको नगर कमिटीले जिल्लामा उम्मेदवार सिफारिस गर्ने, जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रमा पठाउने व्यवस्था छ।
नगर कमिटीले एकल नाम पठाएकाले उनी नै उम्मेदवार बन्ने पक्कापक्की भएको एमाले जिल्लाका नेताहरू बताउँछन्।
एमाले केन्द्रीय सदस्य रहेका मानन्धर विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए। उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं १० बाट उम्मेदवारसमेत बनेका थिए।
त्यतिबेला काठमाडौं १० बाट राजेन्द्र केसीले चुनाव जितेका थिए। २०६४ को पहिलो संविधान सभामा निर्वाचित एकीकृत माओवादीका अध्यक्ष भने तेस्रो भएका थिए। त्यतिबेला केसीले २० हजार ३९२, मानन्धरले १३ हजार ६१५, प्रचण्डले १२ हजार ८५२ मत ल्याएका थिए।
मानन्धर २०४३ सालदेखि एमालेको राजनीतिमा सक्रिय छन्।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका काठमाडौं जिल्ला सचिव, तत्कालीन बागमती अञ्चल संयोजक, केन्द्रीय कमिटीको सांस्कृतिक, विदेश विभाग प्रमुख हुँदै एमालेको विद्यार्थी विशेष जिल्ला कमिटी र पार्टी भूगोल (काठमाडौं जिल्ला) कमिटीमासमेत क्रियाशील थिए।
उनी २०७१ म काठमाडौंमा भएको एमालेको नवौं महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन्।
दसौंमा भने उनी केन्द्रीय सदस्य चुनिएका थिएनन्। गत जेठमा बसेको सचिवालय बैठकले मानन्धरलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो।
मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख, दुई वटा वडाध्यक्षसहित रिक्त ३९ स्थानमा उपचुनाव हुँदैछ।
कीर्तिपुरमा नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई पराजित गरेका थिए। नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए। बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए। माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।
२०७४ मा भने कीर्तिपुर नगरपालिका एमालेले जितेको थियो। त्यतिबेला एमालेका रमेश महर्जनले प्रमुख जितेका थिए।
उनले ७ हजार ७६० मत ल्याएर मेयर जित्दा कांग्रेसका राजकुमार नकर्मी पराजित भएका थिए। उनले ६ हजार ६१६ मत ल्याएका थिए।
कीर्तिपुरमा १ र ४ नम्बर वडाअध्यक्ष पनि रिक्त छ।
२०७९ को कीर्तिपुरको नगर निर्वाचनमा नेपाली कांग्रेसले क्लिन स्विप गरेको थियो। नगरप्रमुख, उपप्रमुखसहित ९ (१, २, ३, ५, ६, ७, ८, ९, १०) वटा वडा नेपाली कांग्रेसले जितेको थियो भनेर ४ नम्बर वडा स्वतन्त्रले जितेको थियो।
वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जनको निधन भएकाले रिक्त हुन पुगेको हो। ४ नम्बर वडाका अध्यक्ष श्यामकुमार अधिकारीको पनि गत वैशाख १० गते निधन भएको थियो।