राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले सहकारी ठगी र संगठित अपराध कसुरमा पोखरा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन्।
सभापति लामिछानेले प्रमाण नष्ट गर्ने र भाग्ने कुनै सम्भावना नरहेकाले थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिने उनले बताइन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायपालिकालाई प्रभावित गर्ने प्रयास गरिरहेको भनेर प्रचार गरिरहेका छन्, त्यो होइन भनेर प्रष्ट रुपमा भन्न चाहन्छु। किनभने १२ लाख नेपालीले पत्याएको, देशको चौथो ठूलो पार्टीको सभापतिलाई प्रहरीले प्रक्राउ गरेर थुनिराख्दा जनता चिन्तित भई भेला भएको कुरालाई मैले प्रष्ट्याउनु पर्दैन। यो कुनै गलत मनसायले गरिएको होइन। जनताको स्वतस्फुर्त जमातले गरेको कुरा हो,’ उनले भनिन्।
साथै उनले सभापति लामिछानेले कुनै प्रमाण नष्ट गर्ने कुरा नआउने पनि बताइन्।
‘त्यसैले म गृहमन्त्रीज्यूलाई विशेष आग्रह गर्न चाहन्छु, उहाँलाई थुनाबाहिर राखेर नै अनुसन्धान गर्ने व्यवस्था गरेर न्याय दिन सकिन्छ कि भनेर सोच्नु हुनलाई विनम्रपूर्वक आग्रह गर्दछु,’ उनले भनिन्।
सभापति लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो।
(न्युज एजेन्सी नेपाल)