गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएकाे बताएका छन्।
आइतबार गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालकाे राष्ट्रियता बलियो बनाएकाे बताएका हुन्।
‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,’ उनले भने, ‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन्। तपाईहरू रहेकाे देशमा तपाईकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईहरू संसारमा फैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ।’
गैरआवासीय नेपालीको उद्देश्य नेपालकाे आर्थिक उन्नति भएकाे भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेकाे गृहमन्त्री लेखकले बताए।
‘त्याे उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईकाे अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छाैं,’ उनले भने।
यस्तै गैरआवासीय नेपालीकाे आर्थिक समाजिक र सांस्कृतिक अधिकारकाे सम्बाेधन गर्न सरकार कानुन संशोधनकाे तयारीमा रहेकाे गृहमन्त्री लेखकले बताए।
‘तपाईहरू पनि त्यसरी नै आउनुहाेस्। कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छाैं। तपाई पनि गृहकार्य गरेर आउनुहोस्,’ उनले भने। लाेकतन्त्र अनुशासनकाे पद्धति भएकाे भन्दै लाेकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए।