उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिको शासन कायम गर्ने क्रममा कानूनी प्रक्रिया अघि बढाउँदा विरोध गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनको कुरा गर्ने अनि गलत काम गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ गर्नु हुँदैन भन्ने काम गरेको बताए।
उनले नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले विधिको शासन कायम गर्ने क्रममा प्रतिरोध गरेको भन्दै आपत्ति जनाए।
उनले सरकार विधिको शासन कायम गर्न अघि बढ्ने बताए।
उनले सरकारले सय दिनमा राखेको लक्ष्य पूरा गरेको समेत दाबी गरे।
उनले विपक्षले उठाएका आवाजहरू तर्कसंगत नरहेको जिकिर गरे।
उनले भने, ‘सरकारको यो सय दिनमा हरेक मन्त्रालयले राखेको टार्गेट प्रगति कति भएको छ भन्ने कुरा त घाम जस्तै छर्लङ्गै छ। टार्गेट गरेअनुसारको काम हरेक मन्त्रालयले अघि बढाइरहेको छ। अझ राम्रो गर्नका लागि अहिले हामी अघि बढिरहेका छौं। विपक्षले जुन आवाज उठाइराख्नुभएको छ, यो कतिको तर्कसंगत छ? भन्ने कुरा जनताले नै लेखाजोखा गर्छन्। डेमोक्रेटिक सिस्टममा अपोजिसनहरूले पनि त के हो भने बोल्न पाउने अधिकार छ। त्यसमा रोकतोक छैन। सरकार आफ्नो गतिअनुसार अघि बढिरहेको छ।’
उनले अगाडि भने, ‘विधिको शासन कायम गर्नको लागि कानूनले कारबाही गर्न प्रक्रियामा अघि बढाउँदा यो ठिक भएन भन्छ। अरूलाई ठिक गरे विधिको शासन। आफूलाई परेपछि हुँदैन भनेर कहाँबाट हुन्छ? सरकार विधिको शासन कायम गर्न अघि बढ्छ। आवश्यकताको आधारमा सबैलाई समावेश गरेर संविधान संशोधन हुन्छ।’
उनले लोकतान्त्रिक प्रणालीमा विपक्षीले बोल्न पाउने अधिकार रहेको बताए। —न्युज एजेन्सी नेपाल