प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार नसच्चिए तमासा हेरेर नबस्ने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारलाई गलत काम सच्चाउनका लागि अहिले खबरदारी मात्रै गरिएको, नसच्चिए तमासा हेरेर नबस्ने बताएका हुन्।
'सरकार सच्चिएन भने तमासा हेरेर बस्दैनौं, अर्को कदमका लागि तयार रहनुहोला,' उनले कार्यकर्ताहरूलाई भने।
उनले माओवादी नेतृत्वको सरकार ढाल्नुको उद्देश्य अहिलेको सरकारले गरिररहेको कामबाट प्रष्ट झल्किने पनि बताए। यस्तो सरकारले माओवादीलाई कानुनी शासनको शिक्षा दिन नमिल्ने पनि बताए।
'ललिता निवास प्रकरणमा अदालतमा मुद्दा विचाराधीन छ। देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरेको र अर्को अदालतमा विचाराधीन अवस्थामा त्यसो गर्न मिल्छ?,' उनले भने।
यसले पनि सरकार कसको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट हुने उनले बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सात सालदेखि यता बनेका सरकारमध्ये सबैभन्दा राम्रो काम गर्ने सरकार माओवादी केन्द्र नेतृत्वको सरकाले गरेको दाबी समेत गरे।
'त्यतिबेला सरकारले चलाएको सुशासनको अभियानले भ्रष्टहरूको निद्रा हराएको उनले बताए।
'सामाजिक र आर्थिक रूपान्तरणको बाटोमा अगाडि बढायौं। त्यसमा हामी अगाडि जाँदै थियौं। त्यससम्बन्धी कानुन ल्यायो र आयोग बनायो। किसानहरूलाई ऋणीहरूलाई ऋणमुक्त बनायौं। उठीबास भएकाहरूलाई पुनर्स्थापित गर्यौं। त्यही क्रममा हाम्रो सरकारलाई ढालेर नयाँ सरकार आयो,' उनले भने।