प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन्।
शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताएका हुन्।
'एमाले, नेपाली काँग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्,' उनले भने।
प्रधानमन्त्री ओलीले लोकतन्त्र देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था रहेको बताए।
' मानव जातीले सामाजिक सुप्रवन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रवन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन्,' उनले भने।
न्युज एजेन्सी नेपालबाट