नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन्।
शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।
उपसभापति खड्काले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताए।
'गठबन्धनको विषय स्थायी विषय होइन। तत्कालीन अवस्थामा, तत्कालीन राजनीतिक अवस्थामा, परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो,' उनले भने, 'त्यसैले त्यो रणनीतिक निर्णयअन्तर्गत हामीले २०७४ सालमा पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्यौं, एउटा परिणाम आयो।'
२०७४ सालको संघ र प्रदेशको चुनावमा कांग्रेसले गठबन्धनलाई निरन्तरता दिन नसक्दा अर्को परिणाम आएको उनको भनाइ थियो।
'तत्कालीन सरकारका प्रमुख (केपी ओली) ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका विरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको बिरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाइँ, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको विरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चर जगत आम जनता। त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौं’, उनले भने।
उपसभापति खड्काले कांग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरू बिर्सिएर नयाँ रूपमा अघि बढ्नुपर्ने समेत बताए।