नेकपा (एमाले) दाङले घोराहीका व्यवसायी तथा जिल्ला सल्लाहकार सदस्यमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न माग राखेको छ।
घोराही उपमहानगरपालिका– १४ लखन पार्क नजिकै बसोबास गर्ने पन्थमाथि असोज २९ गते नेकपा बहुमतका कार्यकर्ताले मिटरब्याजी र सुदखोर भन्दै दुर्व्यवहार गरेका थिए। उक्त घटनाको जिम्मा उक्त पार्टीका जिल्ला सेक्रेटरी अमरले विज्ञप्तिमार्फत लिएका थिए।
घटना घटेको लामो समयपछि शुक्रबार एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव सुर्यबहादुर डाँगी, उपसचिवद्धय भुवनेश्वर पौडेल र सिता चौधरीले संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा उनीहरूले कानुन हातमा लिने समूहलाई कारबाही गर्न माग गरेका हुन्।
उनीहरूले यस्ता घटनाबाट त्रसित नहुन र विधिको शासनलाई सहयोग गर्न आग्रह पनि गरेका छन्।