राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू कर्णाली यात्रामा छन्।
उनीहरूले यही कात्तिक ६ गतेदेखि सल्यानको सल्लीबजारबाट कर्णाली यात्रा थालेका थिए।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार कर्णाली यात्रा जारी छ। यात्राका क्रममा शुक्रबार कालिकोटको मान्ममा सभा हुँदैछ, सभालाई अध्यक्ष लिङ्देनसहित नेताहरूले सम्बोधन गर्नेछन्।
प्रवक्ता श्रेष्ठले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीका एजेन्डाहरूका पक्षमा जनमत सिर्जना गर्न र चौतर्फी अन्यौल तथा अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा देखा परेको परिस्थितिका बारेमा जनतासँग अध्यक्ष लिङ्देनसहित नेताहरूले संवाद गरिराखेको बताए।
‘कर्णालीका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने अभियान हो यो,’ उनले भने। कात्तिक ११ गतेसम्म कर्णाली यात्रा कार्यक्रम चल्नेछ।
यात्रामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही, सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही, सांसद ज्ञानेन्द्र शाहीलगायत छन्।
उनीहरूले यात्राका क्रममा सभाहरूलाई सम्बोधन पनि गर्ने गरेका छन्। त्यसक्रममा उनीहरूले कुनै पनि पक्षलाई निषेध नगरी राजासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्नेमा जोड दिएका छन्।