इन्टर्न चिकित्सकहरूको आन्दोलनमा नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएको छ।
काठमाडौं विश्वविद्यालयअन्तर्गत २०७५/०७६ मा एमबिबिएस पढेका इन्टर्न चिकित्सकहरूले आफूहरूलाई कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै आन्दोलन गरिरहेका छन्।
उनीहरूले सात दिनदेखि आन्दोलन गरिरहेका छन्। सो आन्दोलनलाई दमन गर्न क्याम्पस प्रशासनले अपरिचित व्यक्ति र क्याम्पसका सुरक्षा कर्मचारी परिचालन गरेको भन्दै नेविसंघले विरोधसमेत गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोस्टिङ, फिल्ड भिजिट, इन्टर्नसिप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरूको पढाइ पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने व्यवस्था रहेको छ।
तर काठमाडौं मेडिकल कलेजले प्रतिविद्यार्थी अतिरिक्त इन्टर्नसिप शुल्क दुई लाख, एन एम सी रजिष्ट्रेशन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरी ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम लिएको भन्दै नेविसंघले अतिरिक्त रकम तत्काल फिर्ता गर्न काठमाडौँ मेडिकल कलेजसँग माग पनि गरेको छ।
अतिरिक्त शुल्क यथाशीघ्र फिर्ता नगरे र विद्यार्थीका जायज माग सम्बोधन नभए नेविसंघले काठमाडौं मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने नेविसंघ प्रवक्ता सुरज सेजुवालले बताए।