सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखेका पीडितहरूको आन्दोलनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले समर्थन जनाएका छन्।
सहकारी पीडितको माग जायज भएको भन्दै सत्तारूढ दुई दलले समर्थन जनाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दिनहुँ सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै सहकारी पीडितले आन्दोलनमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी लगायतलाई आह्वान गरेका थिए।
सुर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबार हुने आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए।
सहकारी पीडितले आफुहरूको आन्दोलनमा साथ दिन आग्रह गरेपछि नैतिक समर्थन दिएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए।
‘सहकारी पीडित हाम्रा साथीहरू पनि हुनुहुन्छ, एमालेका साथीहरू पनि हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू समर्थन गर्नुपर्यो भनेर आउनुभयो। हाम्रो नैतिक समर्थन छ भनेर पठाएका छौं।’
सहकारी पीडितले उठाएको आवाज जायज भएकाले पीडितका पक्षमा समर्थन जनाएको उनले बताए। तर आन्दोलनमा होमिन पार्टीका तर्फबाट कुनै निर्णय नभएको पनि बरालले बताए।
‘हामीले आन्दोलमा उत्रने भनेर भनेका छैनौं, न्यायालय प्रवेश गरेको विषय सडकमा नाराजुलुस, तोडफोड र कुटपिट गरेर न्यायालय प्रभावित पार्न हुँदैन भन्ने हाम्रो मान्यता हो,’ सभापति बरालले भने, ‘तथ्य र प्रमाणका आधारमा अदालतले काम गर्छ भन्ने हो। हामीले सडकमा उत्रने भनेका छैनौं।’
एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले पनि सहकारी पीडितले सहयोगको अपिल गरेपछि नैतिक समर्थन जनाएको बताए। पार्टीका तर्फबाट आन्दोलनमा उत्रने आधिकारिक निर्णय नभएको भन्दै उनले पीडित विरुद्ध हुने जुनसुकै कार्यविरुद्ध एमाले उभिने बताए।
‘हामीले सहकारी पीडितको आन्दोलनलाई नैतिक समर्थन जनाएका छौं। हामी आफै आन्दोलनमा उत्रने निर्णय गरेका छैनौं,’ उनले भने, पीडितले साथ चाहियो भनेर आएपछि हामीले नैतिक साथ त दिनुपर्यो नि!’
एमालेका पार्टी सदस्य पनि सहकारीबाट पीडित भएको भन्दै उनीहरुको आन्दोलन र माग जायज भएको उनले बताए।
‘सहकारीमा राखेको पैसा हिनामिना भएपछि न्याय खोज्नु पीडितको अधिकार हो, यसमा एमालेको समर्थन रहन्छ,’ उनले भने, ‘पीडितका विरुद्ध हुने जुनसुकै कार्यको एमाले विरोध गर्छ।’
सहकारी ठगी र संगठित अपराध कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले दिनहुँ सडक आन्दोलन गरिरहेका छन्।
रास्वपाले अनुसन्धान प्रभावित पार्न सडक आन्दोलन गरेको भन्दै पीडित पनि आन्दोलनमा छन्। बिहीबार रास्वपा कार्यकर्ताले पोखराको वाइचोकमा प्रदर्शन गरेका छन् भने सहकारी पीडितले मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन्।
साथै रास्वपाले अबदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ।
यो पनि:
सहकारीपीडित भन्छन्- रवि लामिछानेले हाम्रो पैसा तिर्नैपर्छ
अब काठमाडौंकेन्द्रित आन्दोलन गर्छौं: रास्वपा