नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारको सय दिनको उपलब्धि सुनाउन काठमाडौंमा प्रदर्शन गर्न लागिएको बताएका छन्।
बुधबार प्रेस सेन्टर नेपालका पदाधिकारीहरूसँगको छलफलमा सापकोटाले कात्तिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि जनताले राम्रोसँग थाहा पाउने बताएका हन्।
ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने निति लिएको छ।
यस क्रमश माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो । सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक प्रदर्शन गर्न लागेको हो ।
'सरकार नाङगो रुपमा नै दलाल पुँजिपती र दलालको पक्षमा खुलमखुल्ला लाग्यो,' उनले भने, 'विद्युत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ।'
गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनैबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको प्राथमिकता के हो भन्नेकुरा बुझिएको सापकोटाले बताए।
उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।
प्रदर्शनमा २० हजार बढी नागरिकको सहभागीता रहने उपाध्यक्ष सापकोटाले बताए ।
विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उनले बताए ।
माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने उनले बताए ।
उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताए।
'साना दल फुटाउने र आफ्नो पार्टीमा लगेर सबैभन्दा ठूलो पार्टी बन्ने एमालेको ध्येय छ। त्यस अन्तरगत दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेका थिए । तर हाम्रो खबरदारीले प्रतिपक्षी दललाई नचिढ्याउन अन्तिम समयमा मन्तिपरिषदको बैठक नै स्थगित गर्न सरकार बाध्य भयो ।" उनले भने ।
प्रदर्शनका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइने उनले बताए।
उपाध्यक्ष सापकोटाका अनुसार नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान बिक्री गर्ने तयारी विरुद्ध खबरदारी गरिनेछ । विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न दबाब पनि दिइनेछ ।
बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रण, सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई कारबाही गर्न र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धनका लागि पनि आवाज उठाइने सापकोटाले बताए।
सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न सबैले जोडबल गर्न आवश्यक रहेको भन्दै उपाध्यक्ष सापकोटाले प्रदर्शनको तयारीमा जुट्न सबैलाई आह्वान गरे।