प्रधानसेनापति अशोकराज सिग्देलले लेबननस्थित नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको बताएका छन्।
मंगलबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लेबनन-इसराइलको पछिल्लो परिस्थिति नियालिरहेको र नेपाली शान्ति सैनिकको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए।
अहिलेसम्मको अवस्थामा शान्ति सैनिकहरू पूर्ण रूपमा सुरक्षित रहेको र बंकरमा रहेको उनले बताए। लेबननमा ८७७ जना नेपाली शान्ति सैनिक छन्।
‘संयुक्त राष्ट्र संघले सुरक्षाको दृष्टिकोणले लेभल १, लेभल २ र लेभल ३ भनेर छुट्याइदिएको छ। परिस्थिति अनुसार चुनौतीको लेभल परिवर्तन भइरहन्छ,’ उनले सम्मेलनमा भने, ‘लेभल ३ मा हुँदा सबै जना पूर्ण रूपमा बंकरमा बस्नुपर्ने हुन्छ। लेभल २ मा बंकरबाट बाहिर निस्केर पनि दैनिकी गर्न सकिन्छ। लेभल १ मा हुँदा उनीहरूलाई जुन कामको लागि पठाइएको हो। त्यो काम पूरा गर्न सक्छन्।’
त्यस अनुसार अहिले लेभल २ र ३ अनुसार आवश्यकता अनुसार बंकरमा र त्यहाँबाट बाहिर आउने काम भइरहेको उनले बताए।
‘कहिले लेभल २ हुन्छ, कहिले लेभल ३ हुन्छ। कतिबेला कुन लेभल हुन्छ भनेर भन्न सकिन्न तर जब धेरै फायरिङहरू हुन्छ त्यसबेला लेभल ३ हुन्छ,’ उनले भने, ‘लेभल १ को स्थितिमा आइसकेको छैन। शान्ति सैनिकलाई सुरक्षित राखेर राष्ट्र संघले काम गरिरहेको छ। कथमकदाचित धेरै ठूलै खालको स्थिति आयो भने त्यस्तो परिस्थितिमा के गर्ने भन्नेमा हेर्डक्वार्टरले त्यसको योजना बनाउँदै छ।’
उनले थपे, ‘नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा त्यस्तो अवस्थामा त्यहाँ तैनाथ फौजलाई कसरी नेपाल ल्याउने र सुरक्षित स्थानमा लैजाने भन्ने योजना तयार गरेका छौं। हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौं।’
रक्षा मन्त्री मानविर राईले पनि यसबारेमा शान्ति सैनिकहरूसँग कुरा भइरहेको र सुरक्षित रहेको बताए।
‘यसबारे रक्षा मन्त्रालयको चासो नरहने भन्ने हुँदैन। त्यहाँको अवस्थाबारे परराष्ट्र मन्त्रीसँग छलफल भइरहेको छ। प्रधानसेनापतिले दिनदिनै उहाँको संवाद भइरहेको छ,’ उनले भने।