सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने गरी छलफल अगाडि बढाएको छ।
गए राति अबेरसम्म बसेको नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएको स्रोतको भनाइ छ।
विशेष गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन तयारी गरिएको हो। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।
तीमध्ये असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन्।
एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूहरू उक्त पार्टीमा नरहने निश्चित भइसकेको बताए। 'सबै कुरा अहिले नै भन्न जरूरी छैन तर हामी माधव नेपालको पार्टीमा नहुने निश्चित हो,' उनले भने, ' बाँकी कुरा विस्तारै थाहा होला।'
अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भए पनि आइतबार रातिमात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् ।
अध्यादेश ल्याउने खबर सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसबारेमा बुझ्न कानुनविद् गोविन्द बन्दीलाई शुक्रबार देउवालाई भेट्न पठाएका थिए। भेटमा देउवाले आफू ओलीलाई चिढ्याउने पक्षमा नरहेको जवाफ दिएका थिए।
'मैले यही सरकारमा आउनुस् भनेर माधवजीलाई भनेको हो, उहाँ मान्नु भएन। पहिला एमाले र माओवादीको सरकार बन्दा पनि लुरूलुरू जानुभो। उहाँको भर रहेनछ। ओलीलाई अप्ठ्यारोमा पार्नु हुँदैन,' देउवाले बन्दीलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।
यद्यपी बन्दीले भने आफूले देउवालाई भेटेको इन्कार गरेका छन्।
गए राति सुरूमा देउवा र ओलीका बीचमा मात्रै छलफल भएको थियो। त्यसपछि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए।
बैठक झन्डै मध्यरातिसम्म चलेको थियो।
प्रधानमन्त्री ओलीले आजैका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन्। सोमबार अपराह्न ५ बजे बस्ने बैठकको एजेन्डा बताइएको छैन। 'अध्यादेश ल्याउने विषयमा कुराकानी भएको हो,' एक मन्त्रीले भने, 'तर आजैको बैठकमा आउँछ या आउँदैन यसै भन्न सकिँदैन।'