सचिवालय बैठकअघि प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले डिनर (साँझको खाना) सहितको बैठकको आयोजना गरेका छन्।
शनिबार ढल्कँदो साँझमा उक्त डिनर मिटिङको आयोजना गर्नुको तात्पर्य व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गाबारे पार्टीका नेताहरूबीच समान धारणा बनाउनु रहेको एक नेताले जानकारी दिए।
गत असोज २५ गते व्यवसायी गुरूङले दिएको जग्गामा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ।
पार्टी कार्यालय भवन बनाउन एक वर्षदेखि संगठित सदस्यसँग सय रूपैयाँ लेबी (सदस्यले तिर्नुपर्ने अनिवार्य दायित्व) उठाइरहेको एमालेले एकाएक व्यवसायीसँग १० रोपनी १४ आना बराबरको जग्गा दान स्वीकारेपछि पदाधिकारी तहकै नेता क्षुब्ध छन्।
झन् सचिवालय बैठकमा काठमाडौंको ‘प्राइम लोकेसन’मा भएको जग्गा दान दिने व्यक्तिबारे सुइँकोसमेत नदिई शिलान्यासको साइतै जुराएपछि उनीहरूले बाहिरै प्रतिक्रिया जनाउन थालेका थिए। अधिकांश नेताले जग्गा दान दिने व्यक्तिबारे शिलान्यास गर्न मित्रनगर पुगेपछि मात्रै थाहा पाएका थिए।
विपक्षी पार्टीले सत्तारूढ दलले स्वार्थ बाझिनेगरी दान–दातव्य लिएको भनेर टिप्पणी गरिरहेका बेला पार्टीभित्रैबाट विरोधको स्वर सुनिन थालेपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन्। यसबारेमा ओलीले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन।
उनले यसैबारे समान धारणा बनाउन सचिवालय सदस्यहरूलाई डिनरसहितको छलफलको निम्तो दिएको एक सदस्यले बताए।
‘व्यवसायी गुरूङसँग जग्गा दान लिएकोबारे पार्टीका नेताहरूबीच नै फरक–फरक धारणा आएपछि उहाँले अप्ठेरो महसुस गर्नुभएको रहेछ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीज्यूले डिनरसहितको छलफलको आयोजना गर्नुभएको हो।’
डिनरसहितको मिटिङमा व्यवसायी गुरूङले दान दिएको भनिएको जग्गाबारे प्रष्टीकरण दिएका थिए। उनले पार्टीको आम्दानीको स्रोत चन्दा, दान–दातव्य आदि पनि भएको बताउँदै कसैले पार्टी कार्यालय बनाउन जग्गा दिन्छु भन्दा स्वार्थ नबाझिने गरी स्वीकार्नु अन्यथा नहुने तर्क गरेको ती सदस्यको दाबी छ।
‘उहाँले पार्टी कार्यालय बनाउन सहयोग गर्छु भन्नुभयो। त्यसवापत हामीले केही दिने पनि होइन। साथीहरूले यसलाई यही रूपमै बुझिदिनुपर्यो,’ ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।
ती सदस्यकाअनुसार बालुवाटारमा डिनर छलफललगत्तै आइतबार साँझलाई सचिवालय बैठक तय भएको थियो। आइतबार बस्ने बैठकमा व्यवसायी गुरूङको जग्गा स्वीकार गरिएको विषयमा समान धारणा बनाउने विषयमा छलफल हुनेछ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि शनिबार साँझ प्रधानमन्त्री ओलीले डिनर मिटिङ राखेको बताए।
‘उहाँ (केपी ओली) प्रधानमन्त्री भएदेखि बालुवाटारमा सबै सचिवालय सदस्यहरूको भेटघाट हुने वातावरण पनि मिलेको थिएन। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी कार्यालय शिलान्यास आदि विषयमा सामान्य कुराकानी भयो,’ उनले भने।
यो पनि:
एमाले सचिवालयलाई प्रश्न – सुधारको नेतृत्व गर्ने कि एक अर्बको सम्पत्ति दान थाप्ने?
मदननगरको शिलान्यास अलपत्र छोडेर मित्रनगरमा
दानवीरबाट जग्गा प्राप्त भएको भन्दै ओलीले खुलाएका थिएनन् मिनबहादुर गुरूङको नाम