नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षीहरूलाई आग्रह गरेका छन्।
कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ यो सरकार बनेकोले ढल्ने सम्भावना नरहेको बताएका हुन्।
पूर्वसहमतिअनुसार २०८४ सालको निर्वाचनसम्म कांग्रेस र एमाले गठबन्धनकै सरकारले निरन्तरता पाउने उनको भनाइ छ।
‘यो सरकार ढल्दैन चल्छ तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ। गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन। मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ, जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ,’ मोरङमा शनिबार भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘पूर्वसहमतिअनुसार चुनावसम्मै यो गठबन्धनले निरन्तरता पाउँछ, यो सरकार ढल्छ भन्ने सपना नदेख्नु।’
उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस भने हुन थालेको बताए।
‘यो सरकार बनेको धेरै भएको छैन तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो। त्यसअनुसार काम भइरहेको छैन। सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो। मलाई लाग्छ- जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैनन्,’ उनले भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन्। सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ।’
कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने उनले बताए।
नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।
‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रुपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन्।’
सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने उनले बताए।
‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ। दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ,’ उनले भने।