नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखरामा सुरू हुँदैछ।
अधिवेशनका लागि अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू पोखरा पुगिसकेका छन्। अधिवेशनमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
नेसपा नेता रोशन पोखरेलका अनुसार अधिवेशनमा करिब पाँच सय जना प्रतिनिधि सहभागी हुनेछन्।
अधिवेशनमा नेसपाले तयार पारेको विधान मस्यौदा र घोषणा पत्र मस्यौदामाथि समूहगत छलफल गरेर सुझाव समेट्दै पारित गर्ने तयारी छ।
‘हाम्रो नयाँ विधानले वैकल्पिक शक्ति संरचनाको ढाँचा दिन्छ, कार्यदिशा घोषणा पत्रले दिन्छ,’ उनले भने। नेसपाले माघमा महाधिवेशन गर्दैछ।
विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, संघीय परिषद सदस्यहरू, विज्ञ तथा सल्लाहकारका साथै जिल्ला संयोजकलगायत नेताहरू पनि सहभागी हुनेछन्।
जिल्ला संयोजकसहित कम्तिमा एक जना महिलासहित हरेक जिल्लाबाट तीन जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने नेसपाले जनाएको छ। साथै जनवर्गीय संगठनबाट संयोजकसहित प्रतिनिधि सहभागी हुनेछन्।
विधान अधिवेशनमा पार्टीको नाम, झन्डा परिवर्तन गर्ने/नगर्नेलगायत विभिन्न विषयहरूमाथि पनि छलफल हुनेछ।
२०७९ मा जनता समाजवादी पार्टीबाट छुट्टिएर नेपाल समाजवादी पार्टी गठन भएपछि यो पहिलो विधान अधिवेशन हो।
विधान अधिवेशन कात्तिक ६ गतेसम्म चल्नेछ।