नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन्।
गृहजिल्ला रोल्पाको राङसीमा भएको कार्यक्रममा बोल्दै उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए।
पूर्ववर्ती पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सुशासन कायम गर्न, भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्वले प्रतिनिधिसभाका दुई प्रमुख दल कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको उनको आरोप छ।
सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्वहरूकै स्वार्थमा काम गरेको उनले बताए।
‘बिचौलिया तत्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो। सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन।’
सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उनको भनाइ छ।
सरकारमा रहका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरेका छन्।
फरक प्रसंगमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ पछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको बताए।
मुलुकको आर्थिक विकासका लागि नयाँ आर्थिक केन्द्रको निर्माण जरूरी रहेको व्याख्या गर्दै पुनले आफूले चालु आर्थिक वर्षको बजेटमा एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको बताए।