प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राखेको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारूढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन्।
अध्यक्ष दाहालले शुक्रबार बिहान नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक राखेका हुन्।
उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन्।
बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन्।
साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन्।
बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, मंसिरमा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन्।
रास्वपाले संसदको विशेष अधिवेशन पनि माग गरेको छ। उसले अरू प्रतिपक्षी दलहरूलाई पनि विशेष अधिवेशन बोलाउन साथ दिन अपिल गरेको थियो।
बैठकमा सत्तारूढ लोसपा पनि सहभागी छ। संघीय सरकारमा लोसपाबाट एक जना मन्त्री छन्।