निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आयोगले निर्देशन दिएको छ।
आयोगले नगरपालिकाका प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरूष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई निर्देशन दिएको हो।
बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
‘२०८१/०८/१६ आइतबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरूष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।