गत वर्ष जुनमा पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्याका कारण बिग्रिएको भारत-क्यानडा सम्बन्धमा फेरि तनाव आएको छ।
क्यानेडियन नागरिक निज्जरको हत्यामा भारतको संलग्नता भएको आरोप क्यानडाले लगाएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पोहोर सेप्टेम्बरमा संसदमा बोल्दै निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग भएको दाबी गरेका थिए।
त्यसपछि बिग्रिएको दुई देशको सम्बन्ध चिसो नै थियो।
सोमबार ट्रुडोले भारत सरकारलाई क्यानडाको भूमिमा हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि गरेको आरोप लगाउँदै त्यस्तो कार्य अस्वीकार्य भएको बताए।
निज्जरको हत्यामा भारतीयको संलग्नता रहेको प्रमाण भेटिए पनि भारतले अनुसन्धानमा नसघाएको आरोप पनि क्यानडाले लगाएको छ। सो हत्या लगायत अरू क्यानेडियन सिख विरूद्धका गतिविधिमा संलग्नताको आरोप लगाउँदै सोमबार ६ जना भारतीय कूटनीतिज्ञलाई क्यानडाले निस्कासन गरेको छ।
क्यानडाका लागि भारतीय उच्च आयुक्त सञ्जय कुमार बर्मा लगायत ६ जना कूटनीतिज्ञमाथि छानबिनका लागि कूटनीतिक उन्मुक्ति हटाउन भारतले नमानेपछि उनीहरूलाई निस्कासन गरेको हो। सुरक्षा खतरा देखाउँदै भारतले आफैं उनीहरूलाई फिर्ता बोलाएको बताए पनि उनीहरूलाई निस्कासन नै गरिएको पश्चिमा मिडियाहरूले जनाएका छन्।
जबाफमा भारतले पनि कार्यवाहक उच्च आयुक्त स्टिवार्ट ह्विलर सहित ६ जना क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता दाबी गरे पनि प्रत्यक्ष रूपमा उच्च सरकारी अधिकारीको संलग्नताबारे क्यानडा बोलेको थिएन। अहिले भने उसले आफ्नो भूमिमा आपराधिक गतिविधिमा भारत सरकारकै संलग्नता भएको दाबी गरेको छ।
अक्टोबर १२ मा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र क्यानेडियन सुरक्षा अधिकारीबीच सिंगापुरमा गोप्य भेट भएको थियो। सो भेटमा क्यानडाले आपराधिक गतिविधिमा भारतको संलग्नताको प्रमाण समेत पेस गरेको द वासिङटन पोस्टले लेखेको छ। भारतले भने त्यस्तो केही पेस नगरिएको दावी गरेको छ।
भारतले पाकिस्तान, नेपाल लगायत छिमेकी राष्ट्रमा यस्ता प्रकृतिका हत्या गर्ने र गराउने भनिए पनि पश्चिमा देशमा यस्तो गरेको यसअघि खुलेको थिएन। क्यानडा अमेरिकाको छिमेकी र सबभन्दा नजिकको सम्बन्ध भएको देश मात्रै नभएर नेटो सदस्य र फाइभ आइज राष्ट्र पनि हो। फाइभ आइज अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र अमेरिकाको गुप्तचर गठबन्धन हो। यी देशले व्यापक रूपमा जासुसीमा सहकार्य गर्छन् र गोप्य सूचनाहरू साटासाट गर्छन्।त्यसैले क्यानडासँग उसले दाबी गरेजस्ता प्रमाण हुन पनि सक्छन्।
वासिङटन पोस्टले क्यानेडियन अधिकारीहरूलाई उद्धृत गरेर लेखेको समाचार अनुसार, उच्च आयुक्त बर्मासहित भारतीय कूटनीतिज्ञले क्यानेडियन शिखहरू विरूद्ध जासुसी गर्थे। यसरी प्राप्त सूचना भारतीय गृहमन्त्री अमित शाह र गुप्तचर संस्था 'रअ' का वरिष्ठ अधिकारीलाई पठाउँथे। अनि कारबाहीका लागि अनुमति लिन्थे।
भारतीय कूटनीतिज्ञहरूबीचको संवाद र मेसेजका आधारमा उनीहरूले मोदीका दाहिने हात मानिने शाहसँग अनुमति लिएको खुलेको क्यानडाको दाबी छ।
त्यसरी प्राप्त जानकारीका आधारमा रअले क्यानेडियन नागरिक छानेर लरेन्स बिस्नोईको गिरोहलाई हमलाका लागि खटाउने गरेको पनि वासिङटन पोस्टले जनाएको छ।
बिस्नोई अहिले गुजरात कारागारमा छन्। गुजरात मोदी र शाह दुवैको गृहजिल्ला हो। उनले त्यहीँबाट आफ्नो आपराधिक गिरोह चलाइरहेको मानिन्छ। उनको गिरोहले विजया दशमीको साँझ महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या गरेको छ। उनले भारतीय अभिनेता सलमान खानको हत्या गर्ने धम्की समेत दिइरहेका छन्। बाबा सिद्दिकीको सलमान खान, शाहरूख खान लगायत बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ।
बिस्नोईको गिरोहको क्यानडामा पनि राम्रो पकड छ। आफ्ना पत्र र सन्देशको अन्त्यमा जय श्रीराम लेख्ने बिस्नोईलाई मोदीको हिन्दुवादी सरकारले परिचालन गरिरहेको आशंका छ।
गत नोभेम्बरमा अमेरिकाले समेत अमेरिकी र क्यानेडियन नागरिकता भएका पृथकतावादी सिख गुरूपतवन्त सिंह पन्नुनको अमेरिकामै हत्या गर्न खोजेको आरोप भारतमाथि लगाएको थियो। भारतको चर्को र आक्रामक आलोचना गर्ने पन्नुनको हत्याका लागि निखिल गुप्ता भन्ने भारतीयले भाडामा खोजेका सुटर अमेरिकी सुरक्षा निकायको एजेन्ट परेकाले सो कुराको खुलासा भएको थियो।
त्यस मामिलामा पन्नुनले दोभल र रअका पूर्व प्रमुख सामन्त गोयलसहित भारत सरकारलाई प्रतिवादी बनाई अमेरिकी अदालतमा मुद्दा पनि हालेका छन्। सोही मुद्दाका कारण अरू बेला मोदीसँग विदेश भ्रमणमा जाने दोभल उनको हालैको भ्रमणमा नगएको हुनसक्ने द न्यूयोर्क टाइम्सले लेखेको छ।
अमेरिकाले पन्नुनको हत्या प्रयासबारे गरिरहेको छानबिनमा भारतले सघाइरहे पनि आफूलाई अनुसन्धानमा सहयोग नगरेको क्यानडाको भनाइ छ।
सिख पृथकतावादी आन्दोलनका कारण अमेरिकाको घनिष्ठ मित्रराष्ट्र क्यानडा र चीन विरूद्धको अमेरिकी मोर्चाबन्दीको प्रमुख पात्र भारतबीच सम्बन्ध बिग्रिए पनि यसले दुवै प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा फाइदा भइरहेको मानिन्छ।
अमेरिका र क्यानडामा गुप्तचर परिचालन गरेर हत्या गराउन खोज्दा भारतलाई कूटनीतिक रूपमा घाटा भए पनि, भारत विरोधी विदेशमा रहे पनि, उनीहरूलाई मोदीले छोड्दैनन् भन्ने भाष्यले उनलाई घरेलु राजनीतिमा भने फाइदै हुन्छ। क्यानडाजस्तो विकसित देशलाई समेत नटेर्दा आक्रामक विदेश नीति अपनाएको भनेर उनको छविलाई पनि मद्दत पुग्छ।
उता क्यानडामा पछिल्लो समयमा लोकप्रियता गुमाइरहेका ट्रुडोका लागि पनि सार्वभौमसत्ताको हनन गरेको भारत विरूद्ध चर्का कुरा गर्दा फाइदा हुन्छ र जनताको ध्यान उनको सरकारको असफलताबाट हट्छ।
गत वर्ष सेप्टेम्बरमा पनि क्यानडा र भारतले एक-अर्काका कूटनीतिज्ञलाई निस्कासन गरेका थिए। क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले निस्कासित कूटनीतिज्ञ रअका क्यानडास्थित प्रमुख पवनकुमार राय भएको जानकारी स्थानीय मिडियालाई दिएकी थिइन्। भारतले पनि निकालिएका कूटनीतिज्ञ ओलिभियर सिल्भेस्टर क्यानडाको गुप्तचर संस्थाको भारतस्थित प्रमुख भनेर मिडियालाई चिनायो।
राम्रो सम्बन्ध भएको देशमा खटिएका जासुसले स्वार्थ मिल्ने विषयमा त्यो देशका गुप्तचरसँग सहकार्य नै गर्छन्। केही खटपट भए गुप्तचर निकाय वा सरकारको स्तरमा नै सामसुम पार्छन्। त्यसलाई सार्वजनिक गर्दैनन्। जासुसहरूको गोप्यता र सुरक्षाका खातिर उनीहरूको परिचय त झन् खुलाउँदैनन्। तर क्यानडाले नामै तोकेर राय रअका भएको खुलायो। भारतले पनि त्यसै गर्यो।
भारत र क्यानडाको सम्बन्ध नै बिगार्ने निज्जर को थिए?
निज्जरको जन्म सन् १९७७ मा भारतको पञ्जाब प्रान्तमा भएको थियो। द हिन्दुका अनुसार उनी सन् १९९७ मा क्यानडा गएका थिए। उनले क्यानडामा प्लम्बरको रूपमा काम गरे र त्यहीँ विवाह गरे। उनका दुई छोरा भए। सन् २०२० मा सर्रेको गुरूद्वारामा उनी अध्यक्ष बने।
उनको हत्या भएपछि क्यानडाका अध्यागमन, शरणार्थी र नागरिकता सम्बन्धी मन्त्री मार्क मिलरले एक्स (ट्विटर) मा पोस्ट गर्दै निज्जरले सन् २०१५ मार्च ३ क्यानडाको नागरिकता लिएको पुष्टि गरेका थिए।
सन् २०१६ मा एउटा खुला पत्र लेख्दै निज्जरले घोषणा गरे, ‘म एक सिख राष्ट्रवादी हुँ जसले शिखहरूको आत्मनिर्णयको अधिकार र भारतले कब्जा गरेको पञ्जाबको भविष्यमा हुने जनमत संग्रहमार्फत स्वतन्त्रतामा विश्वास गर्छ र समर्थन गर्छ।’
भारत भने उनले भारतमा आतंककारी गतिविधि गराउन भूमिका खेलेको आरोप लगाउँथ्यो। भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले सन् २०१८ मा भारतमा ठूलो आतंकवादी हमला गर्ने षड्यन्त्र र योजना बनाएको आरोप निज्जरमाथि लगाएको थियो। उनले भारतको सत्तारूढ दल भाजपाको माउ संस्था राष्ट्रिय स्वयंसेवक संघको भेलामा आक्रमण गर्ने, हिन्दुहरूको ज्यान लिने लगायत योजना बनाएको भारतको दाबी थियो।
भारत सरकारले सन् २०२० मा निज्जरलाई खालिस्तानी आतंककारी घोषणा गर्यो। आतंकवादी संस्था केटिएफको नाइके भएको दाबी गर्यो। सन् २०२२ मा उनलाई पक्राउ गर्ने सूचना दिनेलाई १० लाख भारू पुरस्कार घोषणा भयो।
निकै टाढाको मुलुक क्यानडामा बस्ने एक व्यक्ति विरूद्ध भारतले किन यति धेरै स्रोत साधन परिचालन गर्यो त?
किनकि, निज्जर भारतको एक यस्तो आन्दोलनसँग जोडिएका थिए, जसका कारण बहालवाला भारतीय प्रधानमन्त्रीको हत्या भएको थियो।
यसबारे उल्लेख गर्नुअगाडि सिख समुदायको इतिहास थोरै बुझौं।
पञ्जाबी भाषामा खाल्सा भनेको सिख समुदाय हो। खालिस्तान भनेको सिख समुदायको देश हो। सिख इतिहासकार र लेखक खुशवन्त सिंहका अनुसार सिख धर्म सुरू गर्ने १५ औं शताब्दीका गुरू नानकले सुरूमा हिन्दु धर्मको सुधार प्रोत्साहित गर्ने उद्देश्य राखेsf हुन सक्छन्। तर उनको चर्चा र सन्देश धेरै जनतामा पुगेपछि बेग्लै धर्मको रूप लियो। सिक्नु वा चेलाको पञ्जाबी शब्द शिखबाट सो धर्मको नाम रहेको हो।
सुरूमा शिखलाई हिन्दु धर्मको लडाकु दस्ताको रूपमा लिइन्थ्यो। उनीहरू त्यति बेला भारतमा शासन गर्ने मुस्लिम मुगलहरू विरूद्ध लडेका थिए। लडाकु परम्पराका कारण गुरूहरूले पुरूष शिखलाई आफ्नो कपाल र दाह्री नकाट्न, कपाल पगडीले छोप्न र सधैं किरपान (वा छुरा) बोक्न निर्देशन दिए। सिंह जनावर जनाउन नाममा ‘सिंह’ जोड्न भने।
भारत स्वतन्त्र हुने बेलामा पाकिस्तान सँगै शिखका लागि बेग्लै देश खालिस्तानको माग पनि गरिएको थियो। तर मुस्लिम जति शिखको जनसंख्या नभएकाले त्यसको सुनुवाइ भएन। सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भयो। पञ्जाब प्रान्तको धेरैजसो भाग पाकिस्तानमा पर्यो। पश्चिमका सिचाइँ सुविधा भएका राम्रा खेतीयोग्य जमिन सबै पाकिस्तानमा परे। हिन्दुसँगै सिख पनि मुस्लिम बहुमत भएको पाकिस्तानबाट भारततर्फको पञ्जाबमा आए।
भारतमा भाषाका आधारमा प्रान्तहरू बनाइए पनि पञ्जाबमा पञ्जाबी भाषाले त्यस्तो मान्यता नपाएको भन्दै शिखहरूले विरोध गर्न थाले। सिख र हिन्दुबीचको भाषा विवाद बढ्दै गएपछि सन् १९६६ मा पञ्जाबलाई भाषाको आधारमा हरियान्वी र हिन्दी भाषी राज्य हरियाणा, र मुख्यतया पञ्जाबी-भाषी राज्य पञ्जाबमा विभाजन गरियो। उत्तरका पहाडी जिल्लाहरू हिमाचल प्रदेशमा गाभियो। स्वतन्त्रतापछि योजनाबद्ध रूपमा विकसित चण्डीगढलाई पञ्जाब र हरियाणाको संयक्त राजधानी बनाइयो।
त्यसपछि बिस्तारै पञ्जाबले कृषिसँगै, पश्चिमा र खाडी मुलुक गएका पञ्जाबी कामदारले पठाएको रेमिटेन्सका कारण आर्थिक प्रगति गर्यो। अरू प्रान्तका हिन्दु पनि बसाइ सरेर आउन थाले। शिखको बाहुल्यता घट्न थाल्यो। त्यसपछि बाहिरबाट आएका हिन्दुले आफ्ना युवालाई प्रभाव पारेर सिख संस्कृति बिग्रिएको गुरूहरूले महसुस गर्न थाले।
सन् १९७० को मध्यतिर आइपुग्दा मुख्य सिख पार्टी अकाली दलले अझ बढी स्वायत्तता माग्दै केन्द्र सरकारले रक्षा र विदेश मामिला अनि सञ्चार र मुद्रामा मात्रै सीमित हुनुपर्ने माग गर्न थाल्यो।
अकाली दलको प्रभाव कम गर्न युवा जर्नेल सिंह भिन्ड्रावालेलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र उनका राजनीतिक उत्तराधिकारी मानिएका कान्छा छोरा सञ्जय गान्धीले प्रयोग गरेको मानिन्छ। त्यो काम पञ्जाबका तत्कालीन मुख्यमन्त्री ज्ञानी जैल सिंहले गरे। ज्ञानी जैल सिंहपछि इन्दिराको केन्द्रीय क्याबिनेटमा गृहमन्त्री र राष्ट्रपतिसमेत भए।
लोकप्रियता बढ्न थालेपछि भिन्ड्रावालेले शिखहरूलाई भारतमा दास बनाइएको भन्दै झन् भड्किलो कुरा गर्न थाले।
सन् १९६९ को विधान सभा चुनावमा हारेपछि १९७१ मा बेलायत गएर बस्न थालेका पञ्जाबका पूर्वअर्थमन्त्री जगजित सिंह चौहानले विदेश जानेबित्तिकै पृथकतावादी कुरा गर्न थालेका थिए। शिखको छुट्टै देश खालिस्तान बनाउनुपर्ने उनको माग थियो। उनलाई पाकिस्तानले पनि सहयोग गर्यो। बेलायत, क्यानडा लगायत मुलुकमा रहेका शिखले पनि खालिस्तान आन्दोलनलाई समर्थन गर्न थाले।
चौहान देशबाहिर थिए। कट्टरपन्थी कुरा गर्ने युवा भिन्ड्रावाले शिखहरूमाझ लोकप्रिय बने। सन् १९७८ मा शिखको अर्को पन्थसँगको हिंसात्मक भीडन्तको नेतृत्व गरेपछि त उनी परम्परावादी शिखको मुख्य नेता बने। भीडन्तका कारण उनले हतियार बोक्ने दस्ता बनाए।
उता चौहानले १९८० मा आफूलाई खालिस्तानको राष्ट्रपति नै घोषणा गरे। तर पञ्जाबमा भने आफैले स्वतन्त्र खालिस्तानको माग कहिल्यै नगरेका भिन्ड्रावाले खालिस्तानी आन्दोलनको अनुहार बने।
भिन्ड्रावालेको समूह बिस्तारै हिंसात्मक बन्दै गयो। इन्दिरासँग खटपट भएपछि सेनाबाट निकालिएका मेजर जनरल सबेग सिंहले उनको सशस्त्र दस्तालाई तालिम दिन थाले। उग्रवादी भिन्ड्रावालेलाई गिरफ्तार गर्नुपर्ने माग देशभरि उठ्न थाल्यो। गिरफ्तारीबाट बच्न उनी सन् १९८२ मा शिखहरूको सबैभन्दा पवित्र तीर्थस्थल अमृतसरको स्वर्ण मन्दिरमा बस्न थाले। सबेग सिंहले स्वर्ण मन्दिरलाई अभेद्य सैन्य किल्लाजस्तै बनाए। स्वर्ण मन्दिर भित्रका संरचनामा भारी हतियार बोकेका लडाकुले पहरा दिए।
स्वर्ण मन्दिरलाई बलियो किल्ला बनाउन चीन र पाकिस्तानले उनीहरूलाई हतियार दिएको आरोप भारतले लगायो। भिन्ड्रावालेसँग वार्ता असफल भएपछि सन् १९८४ जुनमा उनी र उनका लडाकुलाई स्वर्ण मन्दिरबाट निकाल्न प्रधानमन्त्री इन्दिरा गान्धीले सेना पठाएर अपरेसन ब्लु स्टार सुरू गरिन्। त्यसमा खटाइएका ६ जनरलमध्ये ४ जना सिख नै थिए।
अपरेसनमा ३६ वर्षीय भिन्ड्रावाले, सबेग सिंहसहित सयौं लडाकु मारिए। ठ्याक्कै कति जना मारिए भन्ने यकिन नभए पनि मन्दिर दर्शन गर्न गएका धेरै भक्त र सयौं भारतीय सैनिक पनि मारिएको मानिन्छ।
अपरेसनपछि पवित्र स्वर्ण मन्दिरमा सेना पठाएर बिटुल्याएको ठान्दै सारा सिख समुदाय सरकारसँग क्रुद्ध भयो। खालिस्तानी आन्दोलनले झन् धेरै जनसमर्थन प्राप्त गर्यो।
अपरेसन सकिएको पाँच महिना पनि नबित्दै सन् १९८४ अक्टोबर ३१ मा प्रधानमन्त्री निवास भित्रै हिँड्दै गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका दुई सिख अंगरक्षकले गोली हाने। उनको मृत्यु भयो।
त्यसपछि दिल्ली र देशका अरू भागमा शिखविरोधी दंगा भड्कियो। केही दिनमै हजारौं शिखको निर्मम हत्या गरियो।
यसबाट भारतमा र विदेशमा रहेका शिखहरू झनै रिसाए। तर बल प्रयोग गरेर भारतले बिस्तारै खालिस्तानी आन्दोलन मत्थर पार्यो। सन् १९९० सम्म आइपुग्दा त पूरै नियन्त्रण भइसकेको थियो। अहिले पनि बेग्लै देश खालिस्तान बनाउनपर्छ भन्नेको संख्या पञ्जाबमा धेरै न्यून छ।
खालिस्तानी आन्दोलन विदेशमा, विशेष गरी क्यानडामा भने जीवितै छ। भारत सरकारको विरोधका बावजुद खालिस्तानको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्नु गैरकानुनी नभएको भन्दै क्यानडाले बन्देज गर्दैन।
भारत-क्यानडाको सम्बन्ध बिग्रिने अर्को एक मुख्य कारण पनि छ।
अपरेसन बलुस्टार र इन्दिराको हत्यापछि भएको दंगाको बदला लिन क्यानडामा रहेका खालिस्तानी विद्रोहीहरूले एयर इन्डियाको बोइङ जहाजमा बम बिस्फोट गराएका थिए। मन्ट्रियलबाट लन्डन हुँदै दिल्ली गइरहेको फ्लाइट १८२ आयरल्यान्ड नजिकै एट्लान्टिक महासागरमा २३ जुन १९८५ का दिन बिस्फोट हुँदा त्यसमा सवार सबै ३२९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २६८ जना क्यानेडियन, २७ बेलायती र चालक दलका २२ भारतीय थिए। क्यानेडियन पनि प्राय: सबै भारतीय मूलका थिए।
सोही दिन खालिस्तानीहरूले एयर इन्डियाको टोकियोबाट बैंकक जाने फ्लाइट ३०१ मा पनि एकै समय बिस्फोट गराउने योजना बनाएका थिए। तर टाइम बममा गलत समय हाल्दा सुटकेसमा रहेको बम टोकियो विमानस्थलमै बिस्फोट भयो र जहाज जोगियो। विमानस्थलमा ब्यागेज ह्यान्डलिङ गर्ने दुई जनाको भने मृत्यु भयो।
भारतले आतंककारी हमला हुन सक्ने खतराबारे अवगत गराए पनि क्यानडाले ध्यान नदिएको भनेर आरोप लगायो। क्यानडा आफैले गरेको छानबिनले पनि सुरक्षामा लापरबाही भएको र बारम्बारको सूचनालाई बेवास्ता गरिएको स्वीकार गरेको छ।
त्यत्रा मान्छेको मृत्यु र अर्को जहाजमा पनि बिस्फोट गराउने योजना बनाएको त्यो प्रकरणमा मुख्य अभियुक्तहरूलाई कारबाही नगरेको आरोप भारतले क्यानडालाई लगाउँछ। सो घटनामा क्यानडाको अदालतले २००५ मा जम्मा एक जनालाई मात्रै जेल सजाय दियो। घटना रोक्नमा मात्रै नभएर न्याय सम्पादनमा पनि क्यानडाले जिम्मेवारी बहन नगरेको महसुस भारतले अहिले पनि गर्छ।
यसरी पहिलेदेखि क्यानडासँग खालिस्तानीको कारण चिसो सम्बन्ध जस्टिन ट्रुडो प्रधानमन्त्री भएपछि झनै बिग्रिएको छ।
भारतबाहिर शिखको सबैभन्दा ठूलो जनसंख्या क्यानडामा छ। सन् २०२१ को जनगणना अनुसार क्यानडाको ३ करोड ८२ लाख ५० हजार जनसंख्यामध्ये ७ लाख ७० हजार सिख छन्। जनसंख्याको २.१ प्रतिशत मात्रै भए पनि शिखहरू क्यानडामा प्रभावशाली छन्। उनीहरूले ब्लकमा भोट गर्छन् र धेरैजसो ट्रुडोको लिबरल पार्टीमा आबद्ध छन्। उनको अल्पमतको सरकारबाट गत महिना मात्र समर्थन फिर्ता लिएको तेस्रो ठूलो दल न्यू डेमोक्रेटिक पार्टीका प्रमुख जगमित सिंह पनि सिख हुन्।
ट्रुडोले सिख नेता र भोटरलाई रिझाएर राखेका छन्। खालिस्तानी झन्डा भएका कार्यक्रममा समेत प्रधानमन्त्रीका रूपमा सरिक हुने ट्रुडोसँग भारत भने खुसी छैन।
भारतीय विदेश मन्त्री एस जयशंकरले गत वर्ष क्यानडाले खालिस्तानी मामिलामा गरेको व्यवहारबाट भारत चिन्तित भएको भन्दै क्यानडा भोट बैंक राजनीतिबाट सञ्चालित भएको आरोप लगाएका थिए।
ट्रुडोका बुबा तथा पूर्वप्रधानमन्त्री पियर ट्रुडोसँग पनि भारतको राम्रो सम्बन्ध थिएन।
एयर इन्डियाको फ्लाइट १८२ मा बम बिस्फोटका मुख्य योजनाकार मानिएका तल्विन्दर परमारलाई घटनाअघि सन् १९८२ मा सुपुर्दगी गर्ने भारतको अनुरोध पिता ट्रुडोले अस्वीकार गरेका थिए। परमारलाई भारतीय प्रहरीहरूको हत्याको आरोप भारतले लगाएको थियो। इकोनोमिक टाइम्सका अनुसार ट्रुडोले त्यति बेला भारतले महारानी एलिजावेथ द्वितीयलाई हेड अफ स्टेट नभएर हेड अफ कमनवेल्थ मात्रै मान्ने भएकाले सुपुर्दगी गर्न मिल्दैन भनेका थिए।
छोरा ट्रुडोको पालासम्म आइपुग्दा भारत धेरै विकसित र शक्तिशाली भइसकेको छ।
सिख मनमोहन सिंहले सन् १९९१ देखि सुरू गरेको आर्थिक उदारीकरणले त्यसको जग राखेको हो। उनको नीति कार्यन्वयन गर्न अर्का सिख मोन्टेक सिंह आहलुवालियाले अर्थ सचिवको हैसियतमा साथ दिएका थिए।
मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री भए। सिख कार्यकारी प्रमुख नै भइसकेकाले सिख समुदाय पहिलेजस्तो अहिले हेपिएको महसुस गर्दैन। उनीहरू र हिन्दीभाषीहरू अहिले धेरै घुलमिल पनि भइसकेका छन्।
तैपनि भारत खालिस्तानी मामिलाबारे सजग छ। कुनै पनि देश पृथकतावादीदेखि सशंकित हुन्छ। आत्मनिर्णयको अधिकार जनतामा निहीत हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि पश्चिमा देशले पनि आफ्ना हकमा त्यसलाई मान्दैनन्। शान्तिपूर्ण तरिकाले गरिए पनि र आन्दोलनमा व्यापक जनसमर्थन भए पनि देश टुक्र्याउन कसैले पनि मान्दैन।
सन् २०१७ अक्टोबर १ मा स्वतन्त्रताका लागि भएको जनमत संग्रहमा क्याटेलोनियाका ९२ प्रतिशत जनताले मत दिए पनि सो प्रान्तलाई स्पेनले टुक्रिन दिएन। जनमत संग्रह गराउने नेताहरूलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलायो। कतिपय क्याटेलोनियन नेता भागेर अझै पनि निर्वासनमा छन्।
क्यानडाको फ्रेन्चभाषी क्युबेक राज्यमा पनि पृथकतावादी समस्या छ। तत्कालीन फ्रेन्च राष्ट्रपति चार्ल डि गौलले १९६७ मा क्युबेक आएका बेला फ्रेन्च भाषामा ‘स्वतन्त्र क्युबेक- जिन्दावाद’ भनेर नारा लगाएपछि क्यानडासँग फ्रान्सको पनि सम्बन्ध चिसिएको थियो। त्यति बेला क्यानडाका न्यायमन्त्री रहेका पियर ट्रुडोले उनको अभिव्यक्तिको कडा निन्दा गरेका थिए। पछि क्युबेक स्वतन्त्रताको आन्दोलन हिंसात्मक भएपछि क्यानडाले पनि बल प्रयोग गरेर दमन गरेको थियो।
क्यानडाजस्तै भारत पनि पृथकतावादी खतराप्रति सचेत छ।
पञ्जाबमा खालिस्तानप्रति जनसमर्थन न्यून भए पनि दुःखद र त्रासदीपूर्ण विगतका कारण भारत संवेदनशील छ। त्यही भएर क्यानडामा खालिस्तानीहरूलाई नियन्त्रणको माग खुलेर उठाउँछ, उठाइरहनेछ। क्यानडाले जति विरोध गरे पनि अमेरिकाले स्पष्ट रूपमा नझपारेसम्म चीन विरूद्धको अमेरिकी मोर्चाबन्दीको महत्वपूर्ण अंग रहेको भारतले खालिस्तानीहरू विरूद्ध कारबाही जारी राख्ने देखिन्छ।
ट्रुडोले पछिल्लो पटक भारत विरूद्ध फायर खोलेपछि पनि उनले चाहेजस्तो अमेरिका र बेलायतले समर्थन नगर्ने ब्लुमबर्गले लेखेको छ। क्यानडामा भइरहेको भनिएको भारतीय गतिविधि आपत्तिजनक रहेको र भारतले छानबिनमा सहयोग गर्नुपर्ने भनेर अमेरिका र बेलायतले औपचारिकता पूरा गरे पनि त्योभन्दा बढी नगर्ने संकेत देखिन्छ।
ट्रुडोले सो विषयबारे बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गरेका थिए। तर उनले चाहे जस्तो सहयोग पाएनन्। अमेरिकाले त झन् भारतलाई सार्वजनिक रूपमा बेइज्जत गर्नुभन्दा फकाएर छानबिनमा सहयोग गराउने सोचेको ब्लुमबर्गले लेखेको छ।
ट्रुडोले भारत विरूद्ध संगीन आरोप लगाएको भोलिपल्टै केही भारतीय अधिकारीहरू पन्नुनको हत्या प्रयासको छानबिनबारे कुरा गर्न वासिङटन पुगेका छन्।
भारतको आन्तरिक छानबिनले सो प्रकरणमा केही भारतीय जासुसले अटेर गरेर आफूखुसी काम गरेको र त्यही कारण कैयौं अधिकारीले रअ छोड्नुपरेको देखिएको पनि ब्लुमबर्गले जनाएको छ।
द हिन्दुस्तान टाइम्सले पनि पन्नुनको हत्या प्रयासमा संलग्न भनिएका एक व्यक्तिलाई भारतले गिरफ्तार गरिसकेको भनेर अमेरिकालाई जानकारी गराएको लेखेको छ।
भारतीय अनलाइन पत्रिका द वायरका संस्थापक सम्पादक सिद्धार्थ बर्धराजनको बुधबार प्रकाशित लेख अनुसार पक्राउ परेका ती व्यक्ति रअका अधिकारी हुन्। हत्यालगत्तैको निज्जरको शवको भिडिओमा उनको पहुँच थियो। र, त्यही भिडिओ उनले पन्नुनको हत्या प्रयासको क्रममा निखिल गुप्तालाई पठाएका थिए भन्ने अमेरिकाको संघीय सरकारले चलाएको मुद्दामा उल्लेख भएको उनले लेखेका छन्।
यदि अमेरिकाको आरोपको आधारमा ती सुरक्षा अधिकारीलाई भारतले पक्रेको हो भने उनको निज्जरको हत्या संलग्नताका भएकाले भारतलाई निज्जरको हत्याबारे केही पनि थाहा थिएन भन्न नमिल्ने जिकिर बर्धराजनले गरेका छन्।
यो सबका बाबजुद निज्जरको हत्याबारे भने भारतले कुनै छानबिन समिति गठन गरेको छैन र अनुसन्धानमा क्यानडालाई सहयोग गरेको पनि छैन।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)