नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका क्रियाशील सदस्यहरूले बुझाएको सदस्यता शुल्कबाट केन्द्रीय कार्यालय बनाइएको बताएका छन्।
सानेपामा जग्गा खरिद र भवन निर्माणमा कांग्रेसका सदस्यहरूको मन, अपनत्व र स्वामित्व रहेको उनी बताउँछन्।
नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङबाट दानमार्फत लिएपछि एमालेभित्र र बाहिर पनि यसबारे आलोचना भइरहेको छ।
सोही प्रसंगमा कांग्रेस महामन्त्री शर्माले भनेका छन्, ‘हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौं। कयौं व्यवसायीको स-सानो धन पनि यो निर्माणमा सरिक छ तर मुलत: यसमा पार्टी सदस्यहरूको मन जोडिएको छ।’
उनले पार्टी कार्यालयमा श्रमिक, किसान र सयौं शुभचिन्तक र समर्थकको अपनत्व र स्वामित्व रहेको पनि बताएका छन्। ‘त्यसबेला चार लाख बढी क्रियाशील सदस्यको सदस्यता रकम (लेबी) यसमा प्रयोग भएको छ,’ उनले भने।
भवन निर्माण सकेर २०६३ सालदेखि कांग्रेस सानेपामा सरेको थियो।
भिडिओ:
सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको नीतिलाई फराकिलो अभ्यासमा कांग्रेसले अघि बढाएको पनि उनले बताए। शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जालगायत क्षेत्रमा निजी क्षेत्रले खर्बौं लगानी गरेको उनले बताए।
‘निजी क्षेत्रलाई थप प्रोत्साहित गर्दै देशको ढुकुटीमा राजश्व बढाउने र रोजगारी सिर्जनाको दायरा विस्तारित गर्ने कार्य यतिबेला राज्यको विशेष प्राथमिकता रहनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई हजार घर बनाइदिन सक्ने, गाउँमा शैक्षिक र स्वास्थ्य संस्था भवन बनाउन सक्ने, सय वटा पुल बनाउन सक्ने, रंगशाला बनाउन सक्ने पनि उनको भनाइ छ।
अझ ठूलो दान लिनेदिने भए देशलाई ऋणमुक्त बनाउन निजी क्षेत्रले साथ दिन सक्ने पनि उनले बताए।
‘तर जहाँसम्म पार्टी कार्यालयहरूको कुरा छ, त्योचाहिँ मुलत; पार्टी सदस्यहरूले मिलेर बनाउनु पर्छl मुठ्ठी बटारेर आकाशमा उचाल्नेहरू प्रत्येकले आफ्नो केन्द्रीय कार्यालय बनाउन एकएक मुठ्ठीको योगदान गर्न पाउनुपर्छl भवन बलियो भावनाहरू गाँसेर हुनुपर्छl मेरो पनि योगदान छ भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ,’ एमालेलाई लक्षित गर्दै शर्माले भनेका छन्।
यो पनि: दानवीरबाट जग्गा प्राप्त भएको भन्दै ओलीले खुलाएका थिएनन् मिनबहादुर गुरूङको नाम