नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङबाट लिएको जग्गा फिर्ता गरेको घोषणा गर्नुपर्ने बताएका छन्।
व्यवसायी गुरूङले एमाले पार्टी कार्यालय बनाउने प्रयोजनका लागि कीर्तिपुरमा रहेको जग्गा दान दिएका थिए।
भाटभटेनी सञ्चालक गुरूङले दान गरेको १० रोपनी १४ आना क्षेत्रफलको जग्गामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र व्यवसायी गुरूङले पार्टी कार्यालय शिलान्याससमेत गरिसकेका छन्।
कांग्रेसका सम्पर्क समितिहरूसँग बुधबार बानेश्वरमा भएको छलफलमा महरले एमालेले दानबाट लिएको जग्गा व्यवसायीलाई नै फिर्ता दिनुपर्ने बताएका हुन्।
संघीय सरकार कांग्रेस र एमाले मिलेर बनाएका छन्।
जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको भन्दै महरले प्रधानमन्त्रीले कसैबाट दान लिनु सुशासनको खिलाप हुने भएकाले फिर्ता गर्न आग्रह गरेका हुन्।
व्यवसायी गुरूङको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी कार्यालय भवन बनाउन उनै व्यवसायीबाट दानमार्फत् जग्गा लिनुले देशमा विधिको शासन छ कि छैन भन्ने प्रश्न उठेको उनको भनाइ छ।
‘तसर्थ यथासक्य एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ,’ उनले भने।
यो पनि: दानवीरबाट जग्गा प्राप्त भएको भन्दै ओलीले खुलाएका थिएनन् मिनबहादुर गुरूङको नाम