प्रहरीको तथ्यांकले भन्छ- बालबालिकामाथि हुने यौन हिंसाका घटना ८८ प्रतिशतभन्दा बढी चिनजानका व्यक्तिबाटै हुन्छन्। चिनजानका व्यक्ति भित्र छिमेकीदेखि आफ्नै बुवासम्म हुन्छन्। बलात्कारमा परेपछि घरै छोडेर विस्थापित हुने बालिकाको संख्या कति छ स्वयम् राज्य पनि अनभिज्ञ छ। यो खबर ३ देखि १७ वर्षका १४ जना बालिकाको हो जो आफन्तबाट बलात्कृत भएपछि ललितपुरको एउटा संस्थाको आश्रयमा बसिरहेका छन्। उनीहरूको गोपनीयताका लागि हामीले स्टोरीमा सबैको नाम परिवर्तन गरेका छौं।
एकः गत साउन २५ गते धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केबरको सुकुम्बासी बस्तीमा ७८ वर्षीय वृद्धको मृत्यु भयो। उनको निधनको खबर पाएपछि टोलभरीका मान्छे उतैतिर गए। स्थानीय संगीता पनि आफ्नी ३ वर्षकी सानी छोरीलाई घरमै छोडेर त्यँहा गइन्।
करिब आधा घण्टापछि फर्किँदा छोरी घरमा थिइनन्। संगीताले आत्तिएर यताउता खोज्न थालिन्। त्यसअघि पनि उनले छोरीलाई घरमै छाडेर बाहिरतिर गइरहन्थिन्। तर फर्केर आउँदा छोरी घरमै खेलिरहेकी हुन्थिन्। त्यस दिन छोरीलाई घरमा नदेख्दा संगीता अताल्लिइन्।
खोज्दै जाँदा छिमेकी नारायण यादवको घरभित्रबाट छोरी चिच्याएको आवाज आयो। उनले ढोका ढकढक्याइन्। केहिबेरपछि ढोका खोलेर ६५ वर्षीय नारायण यादव निस्किए। तीन वर्षिया छोरी चिच्याएर रोइरहेकी थिइन्। उनको योनीबाट रगत बगिरहेको थियो। देख्नेबित्तिकै संगीताले नारायणको कठालो समाइन् तर नारायणले उनैलाई धकेलेर बाहिर निस्किए।
छिमेकीहरूको सहयोगमा संगीताले पीडक नारायणलाई पक्रिएर सोही दिन प्रहरीसमक्ष बुझाइन्। नारायण अहिले प्रहरी हिरासतमा छन् तर ती सानी नानी आमाको काखमा छैनन्। बुवा मजदुरीका लागि बाहिर गइरहनुपर्ने र तन्ना झुण्ड्याएर ढोका बनाइएको घरमा संगीता आफै त असुरक्षित महसुस गरिरहन्छिन् उनले छोरीलाई त्यही ठाउँमा राख्ने कुरै भएन। ३ वर्षमै यति ठूलो नियती भोग्न परेपछि उनले गाउँ छोड्न पर्यो।
दुईः काभ्रे पाँचखालकी नितु पढाइमा सानैदेखि अब्बल थिइन्। पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उनको दिलचस्पी थियो। २०८० असोज २९ गते विद्यालयमा दसैं विशेष कार्यक्रम थियो। उनले त्यस दिन गीत गाइन्। उनको प्रतिभा देखेर स्कुलका शिक्षक शिक्षिका निकै खुसी भए। केही बेरपछि उनी मोबाइल चार्ज गर्न स्कुलकै साइन्स ल्याबमा गइन्। उनको पछिपछि गएका विज्ञान शिक्षकले उनीमाथि पहिलोपटक त्यहीँ दुर्व्यवहार गरे।
उनी आफ्नै स्कुलमा सुरूमा विज्ञान पढाउने शिक्षक र त्यसपछि प्राधानाध्यापकबाट यौन दुर्व्यवहारमा परिन्। तर डरले उनले कसैलाई भन्न सकिनन्। शिक्षकहरूले पनि बेइज्जत गरिदिने धम्की दिएका थिए। नितु शिक्षकसँग डराइन् र चुपचाप बसिन्।
२०८० कात्तिक ११ गते उनी मामाघरबाट घर फर्किदै थिइन्। माइजुले नितुको मोबाइलमा फेसबुक खोलिन्। फेसबुक खोल्दा २ जना शिक्षकहरूबाट भेट्न आउ भन्ने मेसेज आएको थियो। नितुले विज्ञान पढाउने शिक्षकले पठाएको मेसेजको जवाफ दिइन्। किनभने उनलाई ती शिक्षकले पहिले पनि कतै केही भने आफूले नै बेइजत गरिदिने धम्की ती शिक्षकले दिएका थिए।
डरका कारण विज्ञान शिक्षकलाई भेट्न राजी भएकी थिइन् नितु।
उनी मामाघरबाट घर जान्छु भनेर हिँडिन् र साँगामा झरेर विज्ञान शिक्षकलाई भेटिन्। ती शिक्षक मोटरसाइकलमा नितुलाई पर्खिएर बसिरहेका थिए। ती शिक्षकले उनलाई बनेपाको बनेपा भिलेज रिसोर्ट पुर्याए। एउटा कोठामा लगे, खाजा र मदिरा मगाए। शिक्षकले मदिरा खाए, नितुले खाजा खाइन्। शिक्षकले नितुलाई त्यही जबरजस्तीकरणी गरे र यो कतै भने उनकै बेइज्जत हुन्छ भनेर फेरि धम्क्याए।
त्यसपछि शारीरिक र मानसिक रूपमा विक्षिप्त बनेकी नितुको मनमा अब मर्छु, संसार छोड्छु भन्ने मात्र विचार आइरह्यो।
एक दिन नितुले आफ्नो साथीको मोबाइलबाट फेसबुक खोलेकी थिइन्। तर उनले लग आउट गर्न भने बिर्सेकी रहिछन्। साथीले उनको फेसबुकमा आएका मेसेजहरू हेरिछन्। सबै कुरा थाहा भएपछि नितुमाथि भएको घटना साथीले नै बाहिर ल्याइदिइन्। प्रहरीले प्रकाउ गरेका प्रधानाध्यापक १ लाख धरौटीमा छुटे भने शिक्षक अहिले पनि थुनामै छन्। तर नितु भने आफ्नो घरमा पनि बस्न सकिनन्। आफैले पढेको विद्यालय, आफै खेलिरहेको गाउँ र हुर्किरहेको घर नितुका लागि असुरक्षित भयो। उनी गाउँमा बस्नै सकिनन्, गाउँ छोडेर हिड्नुपर्यो।
तीनः महोत्तरीकी सोनी महतो पोहोर उनीमाथि बलात्कार हुँदा १३ वर्षकी थिइन्। परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएका कारण उनी मामाघर बसेर पढिरहेकी थिइन्। लुटेराको एउटा समूहले उनको घरमा लुटपाट गरी उनकी आमा र हजुरआमालाई कोठामा थुनेर उनलाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेका थिए। उनीहरू अहिले जेलमा छन्। उक्त घटनापछि सोनी मानसिक रूपमा कमजोर देखिएकी छिन्। घटना हुँदा ७ कक्षा पढ्दै गरेकी उनी पूर्ण रूपमा निको नभएकाले परामर्शमा छिन्। तर घटनापछि उनी आफ्नो गाउँमा सुरक्षित हुन भने सकिनन्।
चारः डडेल्धुराकी १२ वर्षीया बालिका सीमा एक्कासि सिकिस्त बिरामी भइन्। बिरामी भएपछि उनलाई २०८० साल माघ २८ परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा भर्ना गरियो। उपचारका क्रममा उनीमाथि पटक-पटक बलात्कार भएको चिकित्सकले पत्ता लगाए। चिकित्सकले नै प्रहरीलाई खबर गरेपछि उनी बिरामी हुनुको कारण पत्ता लाग्यो। सीमालाई उनकै काकाले ६ महिना अघिदेखि बलात्कार गर्दै आइरहेका थिए भने छिमेकी युवक पुष्कर थापाले पनि उनीमाथि बलात्कार गर्दै आएका थिए।
बालिकाको बयानपछि माघ २८ गते नै प्रहरीले पुष्कर थापालाई पक्राउ गरेर हिरासतमा लियो भने काका अझै फरार छन्। उनको मुद्दामा अहिलेसम्म फैसला भएको छैन। पीडक पक्राउ परे पनि सीमा आफ्नो घरमा भने बस्न पाइनन् र सकिनन्।
पाँचः सात वर्षअघि विरेन्द्रनगर नगरपालिका १० सुर्खेतकी माया चौधरीमाथि बलात्कार भयो। बलात्कारपछि जन्मिएकी हुन् जुनु चौधरी। तर हुर्किँदै जाँदा जुनु पनि सुरक्षित भइनन्। ८ महिना अघि स्थानीय ३४ वर्षका एक युवाबाट यौन हिंसामा परेपछि उनले आमाको काख छोड्न पर्यो।
छः जनकपुरकी १७ वर्षीया नमिता कापरको घरायसी आर्थिक अवस्था असाध्यै नाजुक छ। एक पेट खाना र एक सरो लुगाको जोहो गर्न उनकी आमा गाउँकै जमिन्दारकहाँ काम गर्न जान्थिन्।
एकदिन उनकी आमा अलि अबेरसम्म घरमा आइनन्। त्यसपछि ममता आमालाई खोज्न जमिन्दारको घरमा गइन्। उनले आमालाई बोलाइन् तर त्यही समयमा जमिन्दारको छोराले उनलाई घरभित्र बोलाए, नमिता भित्र छिरिन्। नमिता भित्र गएपछि मालिकको छोराले ढोकाको चुकुल लगाएर जबरजस्ती गरे। उनले कसैलाई भने मारिदिने धम्कीसमेत दिए। एक दिन, दुई दिन गर्दै महिनौं बित्यो नमिता बिरामी भइन्। उनलाई खान मन नलाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षणहरू देखिन थाले। पछि नमिताले नै आफूमाथि भएको घटना बताइन्। पीडक र उनकी आमा मिलेर नमिताको पेटमा गानागोलो भएको भन्दै उपचार गरिदिने बताए। जनकपुरकै एक पोलिक्लिनिकमा लगेर उनको गर्भपतन गराए।
त्यसपछि नमिताको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गयो। लगातार रक्तस्राव हुँदा उनी कमजोर हुँदै गइन्। महिला हिंसाको क्षेत्रमा काम गर्दै आएको एक संस्थाको प्रतिनिधिले थाहा पाएपछि बलात्कारीविरूद्ध उजुरी पर्यो। उनलाई प्रहरीले पक्रेर जेलमा हाल्यो। चलिरहेको मुद्दाको फैसला अझै भएको छैन। तर घटनालगत्तै नमिता भनेर आफ्नो घरमा बस्न सकिनन्। उनी गाउँ छोड्न बाध्य भइन्।
सातः २०७९ मंसिर ७ गते काकाको मृत्यु भएपछि उनकी आमा आफ्नो गाउँ बर्दिबास खयरमारा गएकी थिइन्। १३ वर्षकी गीतु भक्तपुरको एक इट्टाभट्टामा आफ्ना बाबुसँगै बसेकी थिइन्। तर उनका बाबुले नै उनलाई बलात्कार गरेपछि गीतु आफ्नो घरमा सुरक्षित हुने कुरै भएन। छोरीमाथि बलात्कार गरेका व्यक्ति अझै फरार छन्। गीतुले जिन्दगीसँग संघर्ष गरिरहेकी छिन्।
७९ मंसिर ७ अघि पनि गीतुलाई उनका बाबुले बारम्बार यौन हिंसा गर्दै आएका थिए। त्यस दिन आमा नभएको मौका पारेर उनले बलात्कार गरे। घटनाको दुई/तीन महिनापछि गीतुले मन लाएर नखाने, बान्ता गर्ने, सुतिरहने भएपछि उनकी आमाले कारण सोधिन्। सुरूमा उनले बताउन सकिनन्।
पछि आमाले दुई थप्पड गालामा हानेपछि रितुले आफुमाथि यस्तो व्यवहार गर्ने बाहिरको कोही नभएर आफनै बुवा रहेको बताएपछि आमा छाँगाबाट खसेजस्तै भइन्।
पछि आमाले नै प्रहरीमा गएर आफनै श्रीमानविरूद्ध उजुरी दिएकी थिइन्। अनि छोरीलाई एक संस्थाको सहकार्यमा ४ महिनाको गर्भपतन गरिएको थियो। आफ्नै बाबुले गरेको जघन्य अपराधपछि गीतुको घर ‘घर’ रहेन। उनी विस्थापित हुनपर्यो।
आठः रोमी विक अहिले १५ वर्षकी भइन्। उनी आफ्नै बुवाबाट बलात्कारमा पर्दा मात्रै १३ वर्षकी थिइन्। डुंगेश्वर गाउँपालिका, दैलेखकी रोमीलाई बलात्कार गर्नुअघि उनको बुवाले उनकी दिदी मनुलाई पनि लगातार बलात्कार गर्दै आएका थिए। तर बुवाले मारिदिने धम्की दिएकाले मनुले कसैलाई भन्न सकेकी थिइनन्। आफूमाथी बुवाबाटै यस्तो हर्कत भएपछि रोमी चुप बस्न सकिनन्। उनले सबैभन्दा पहिले आफ्नी दिदी मनुलाई यो कुरा बताइन् ।
मनुले आफूमाथि पनि यस्तै भइरहेको भनेपछि उनी झन् अताल्लिइन्। पछि थाहा भयो बुवाले उनीहरूको बहिनीमाथि पनि हिंसा गर्न सुरू गरिसकेका रहेछन्। त्यसपछि तीन दिदी-बहिनी मिलेर आमालाई घटनाबारे बताए। तर आमाले आफूहरूकै बेइज्जत हुने र घरमा बस्न पनि नपाइने भन्दै उनीहरूलाई यो कुरा बाहिर नल्याउन भनिन्, उल्टै हप्काइन् र तिमीहरूकै गल्ती हो भनेर आरोप लगाइन्।
यी दिदी-बहिनीले हजुरबुवा हजुरआमालाई पनि भनेका थिए। तर साथ पाएनन् बरू घरबाटै निकालिदिने धम्की दिए। तर रोमी डगमगाइनन्। उनले प्रहरीमा उजुरी दिइन्। दुई दिदी-बहिनीले पनि साथ दिएपछि अदालतले अहिले उनको बुवामाथि ३५ वर्षको जेल सजाय सुनाएको छ। तर यी तीनै दिदी बहिनी घरमा बस्न भने पाएनन्।
नौः दैलेख डुंगेश्वरकी सुमी विक बुवाबाटै बलात्कृत भएपछि आफ्ना दुई दिदीहरूसँगै गाउँ छोडेर हिँडेकी हुन्। कानुनी लडाईं लडेर उनलाई अदालतले न्याय त दियो तर समाजले उसै गरेपछि उनी गाउँमा टिक्न सकिनन्।
दशः नौमुले गाउँपालिका-३ दैलेखकी इशु मगर अहिले १० वर्षकी भइन्। उनी र उनको बहिनीसहित उनको आमालाई घरबाट निकालिदिए। त्यसपछि केही समय उनीहरू आफन्तको शरणमा पुगे। त्यहाँ पनि बस्ने वातावरण नभएपछि उनकी आमा सुर्खेत गएर एक जना ६५ वर्षीया श्रीमती गुमेको व्यक्तिसँग विवाह गरेर बसिन्। तर ती पुरूषका जेठी श्रीमतीपट्टीका छोराहरूले इशु र उनको दिदी लिजालाई बलात्कार गरे। त्यतीमात्रै होइन यी दुई दिदीबहिनीको हत्या प्रयास पनि भयो। परिणामतः यी दिदीबहिनी घरमा बस्न सकेनन्, विस्थापित हुनपर्यो।
एघारः १२ वर्षकी लिजा मगर इशुकी दिदी हुन्। उनी बहिनीसँगै एकै समयमा एकै व्यक्तिबाट बलात्कारको सिकार भएकी थिइन्।
बाह्रः सुनसरीको झुम्काकी बालिका हुन् उस्मा पराजुली। उनी पनि २०७८ साल माघ ८ गते काका नाता पर्नेबाट बलात्कृत भएकी थिइन्। उस्माको बुबा मानसिक रूपमा केही कमजोर थिए।छोरीमाथि त्यस्तो घटना भएको थाहा पाएपछि उनले २०७८ साल फागुनमा दिदीको घरमा झुण्डिएर आत्महत्या गरेका थिए। छोरी र श्रीमानमाथिको बज्रपातबाट प्रताडित भएर उस्माकी आमा पनि मानसिक बिरामी भइन्। सबै घटनाहरूको परिणाम एउटै थियो उस्माले आफ्नो घर छोड्नुपर्यो।
तेह्रः कालिकोटकी ९ वर्षीया बालिका रोशी महतरा एक वर्षअघि बलात्कारमा परिन्। बुबा आमा अर्काको बाख्रा फार्ममा काम गर्ने उनलाई फार्म संचालकका २६ वर्षीया छोराबाट पीडित बनेकी थिइन्। घटनालगत्तै पीडक भागेको र पीडितका बुवाआमा आर्थिकरूपले विपन्न भएका कारण प्रहरीमा उजुरीसम्म दर्ता भएको छैन।
चौधः सनिशा रूम्बा अहिले ९ वर्षकी भइन्। मामा नाता पर्ने ब्यक्तिबाट बलात्कृत हुँदा उनी ६ वर्षकी थिइन्। रौतहट चन्द्रनिगाहपुरकी सनिमाथि २०७८ साल चैत १२ गते बलात्कार भएको थियो।
सनिसाको बुबा आमा इँटाभट्टामा काम गर्न गएको वेला मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाएर उनलाई आफ्नै कोठामा लगी बलात्कार गरेका थिए। घटनाको ३ दिन पछि चैत १६ गते साँझ सनिसाले आमासँग पिसाब फेर्न समस्या भएको बताएपछि घटना सार्वजनिक भएको हो। आमाले छोरीलाई नुहाइदिन लाग्दा गुप्तांगमा चोट देखेर सोधखोज गरेपछि उनले घटनाबारे बताएकी थिइन्।
चैत १७ गते नै प्रहरीले मामा पर्नेलाई नियन्त्रणमा त लियो तर सनिशाले सानैमा गाउँ छाड्नपर्यो। उनी अहिले पनि एक संस्थामा आश्रित छिन्।
सबै तस्बिरः बिनु सुवेदी/सेतोपाटी।