धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कानुनविपरीत वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन्।
मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ। मेयर साम्पाङले उपमेयर अईन्द्रबिक्रम बेघालाई कार्यवाहक नदिएर वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवाद देखा परेको हो।
२०७९ वैशाखको स्थानीय चुनावमा साम्पाङ स्वतन्त्र, अईन्द्र नेकपा (माओवादी केन्द्र) र फागु नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका हुन्।
असोज २३ गते मेयर साम्पाङले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए। आफू असोज २८ गते बेलायत जाने भएकोले फर्केर नआउँदासम्मका लागि भन्दै मेयर साम्पाङले वडाध्यक्ष फागुलाई कार्यवाहकको जिम्मेवारी तोकेपछि यसले विवाद सिर्जना गरेको हो।
मेयर साम्पाङले पाँच वटा शर्तसहित सामान्य रेखदेख र निर्देशनको अधिकार हुने गरी वडाध्यक्ष फागुलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
एक दिनमा अधिकतम पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग दिन सक्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड छानबिन र अनुसन्धानको प्रक्रियामा रहेकोले जस्तो छ त्यस्तै राख्ने, मर्मत नगर्ने तथा कुनै बजेटका योजना स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार, ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरूवा बढुवा नगर्ने शर्तसहित मेयर साम्पाङले वडाध्यक्ष फागुलाई कार्यवाहक जिम्मेवारी तोकेका थिए।
स्थानीय सरकार सञ्चालन ऐनको कुन दफाअनुसार वडाध्यक्षलाई कार्यवाहक दिइएको हो मेयर साम्पाङले पत्रमा खुलाएका छैनन् भने बोधार्थ उपमेयर र वडाध्यक्षहरूलाई पनि दिएका छैनन्, प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै दिएका छन्।
मेयर साम्पाङले कानुनविपरीत वडाध्यक्षलाई कार्यवाहक दिएको उपमेयर बेघाले मंगलबार पत्रकार सम्मेलन गरी बताएका छन्।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को १ को (क) को १२ नम्बरमा प्रष्ट लेखेको छ- प्रमुख नभएको अवस्थामा उपप्रमुख (उमेयर) लाई र उपमेयर नभएको हकमा मात्रै अन्यलाई कार्यवाहकको अधिकार प्रत्यायोजन गर्ने प्रष्ट कानुनी व्यवस्था छ,’ उपमेयर बेघाले भने, ‘तर उहाँ (मेयर) ले कार्यवाहक दिँदा कुनै धारा, दफा उल्लेख गरिएको छैन। यो सरकार स्थानीय सरकार ऐनले चल्ने भएकोले ऐनका धारा र दफालाई कुल्चेर अघि कानुनी व्यवस्थामाथि प्रश्न गर्छ।’
उपमेयर बेघाले उल्लेख गरेजस्तै स्थानीय सरकार ऐन २०७४ को दफा १६ को उपदफा ४ को (क) को १२ नम्बर बुँदामा ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ उल्लेख छ।
उपमेयर बेघा धरानमै छन्। उनले मंगलबार कार्यकक्षबाटै पत्रकार सम्मेलन गरे। उपमेयर हुँदाहुँदै स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाविपरीत मेयर साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि यसले विवादको रूप लिएको हो।
‘संविधान र कानुनले सबैको क्षेत्राधिकार र काम निर्दिष्ट गरेको छ, प्रमुख, उपप्रमुख, वडाध्यक्ष भनेको जिम्मेवारी हो, यी पदहरूबीच कुनै आग्रह वा पूर्वाग्रह हुन मिल्दैन,’ उपमेयर बेघा भन्छन्, ‘यसमा व्यक्तिगत ढंगले निर्देशन वा आदेश गर्ने कुरा छैन। नगर प्रमुखले नगरपालिकालाई नै विवादित बनाउने हिसाबले अधिकार प्रत्यायोजन गर्नुभयो, यसले हामीलाई गम्भीर बनाएको छ। यस्ता क्रियाकलापले नगरलाई विवादित बनाउने देखिन्छ। कानुनी प्रश्न उठ्यो, नगर प्रमुखले सच्याउने कि नसच्याउने?’
मेयर साम्पाङले के आधार र कुन दफाअनुसार कार्यवाहक तोकेको हो प्रष्ट हुनुपर्ने उपमेयर बेघा बताउँछन्।
‘व्यक्तिगत इगो वा कुनै कारणले हो भने त्यो गलत हुन्छ, कार्यवाहक जो पनि हुन सक्ला तर प्रक्रिया त पूरा गर्नुपर्यो नि!,’ उनले भने, ‘के आधारबाट कार्यवाहक हुने भन्ने कानुनमा लेखेअनुसार त हुनुपर्ला।’
मेयर साम्पाङको निर्णयले धरान उपमहानगरभित्र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठेको पनि उनले बताए। ऐन र कानुनभन्दा बाहिर गएर भएका निर्णय कसरी मान्ने भन्दै उनले प्रश्न पनि गरे।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यवाहक तोकिने भएकोले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिइनु गैरकानुनी हुने भन्दै आफूले वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत र सबै महाशाखा प्रमुखहरूलाई निर्देशन पनि जारी गरेको उनले बताए। ‘कानुन पालना गर्ने संस्थाले कानुनभन्दा बाहिर गएर काम गर्न हुँदैन भनेको छु,’ उनले भने।
मेयर साम्पाङसँग आफ्नो कुनै पनि विवाद नरहेको उपमेयर बेघा दाबी गर्छन्। नगर प्रमुखले जनप्रतिनिधिलाई कार्यवाहक दिँदा शर्तसहित तोक्ने परम्परा नरहेको र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यवाहक तोक्नुपर्दा मात्रै शर्तसहित तोक्ने गरिएको बेघा बताउँछन्।
‘एकपटक हामी काठमाडौं जाँदा वडा नम्बर १८ को अध्यक्षलाई कार्यवाहक तोक्यौं। स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को उपदफा ४ को १२ बमोजिम तपाईंलाई कार्यवाहक प्रमुख तोकिएको छ भनिएको छ, त्यो पत्र पल्टाएर हेर्नुस्,’ उनले भने, ‘यसअघि पनि प्रमुख र उपप्रमुख नभएको हकमा मात्रै वडाध्यक्षलाई कार्यवाहक दिएको अवस्था छ।’
आफू स्थानीय सरकार सञ्चालन ऐनअनुसार चल्ने पनि उनले बताए। ‘कानुनले कार्यवाहक मेयर म हो भन्छ,’ उपमेयर बेघाले भने। उपप्रमुख कार्यालयमा हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष फागु कार्यवाहक मेयरको रूपमा बस्न नहुने उनले बताए। ‘उहाँ स्थानीय सरकार ऐनअनुसार चल्नुपर्ने हो,’ उनले भने, ‘सबै कानुनबमोजिम अघि बढ्नुपर्छ।’