नेकपा (एमाले) ले काठमाडौं, कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा केन्द्रीय कार्यालय शिलान्यास गर्दैछ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एमालेले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ।
कलंकीको ढुंगेअड्डाबाट केही पर मैत्री नगरमा ११ रोपनी बढी जग्गा खरिद गरेर भवनको शिलान्यास गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
एमालेको बिहीबार बसेको सचिवालय बैठकले शुक्रबार मध्याह्न केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको थियो।
‘आज १२ः२५ मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गर्नुहुनेछ। एक वर्षपछि आजकै दिन (महानवमी) मा भवन उद्घाटन गरेर सर्ने तयारी गरेका छौं,’ गौतमले भने।
यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।
पासाङ ल्हामु प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा तेस्रो पक्ष (एमाले) लाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो। त्यहाँ अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ।
केन्द्रीय कार्यालय चाहिँ त्यहाँबाट सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्याइएको थियो।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो। यद्यपि यो जग्गा पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भाडामा लगाएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो।
मनोहरा नदीको किनारमा रहेको तुलशीलाल स्मृति प्रतिष्ठानको भवन बाढी आउनेबित्तिकै डुबानमा पर्छ।
गत असोज १० देखि १३ गतेसम्मको बाढीले एमाले केन्द्रीय कार्यालय रहेको उक्त भवनको भुइँतला पूरै डुबाएको थियो। उक्त तलामा रहेका अधिकांश सामग्री बाढीले नष्ट बनाएको एमालेले बताएको छ।
बल्खुमा रहेको पुरानो जग्गामा पनि भवन बनाउने अवस्था नरहेको केन्द्रीय सदस्य नीरज आचार्य बताउँछन्।
‘एकातिर खोलाको मापदण्ड छ भने अर्कोतिर दुवैतिर खोलाले घेरेको छ। त्यहाँ पनि डुबानको समस्या पर्ने भएकाले वैकल्पिक ठाउँ खोज्नुपरेको हो। अहिले ११ रोपनी केही बढी जग्गा किनेर भवन शिलान्यासको तयारी गरेका हौं,’ उनले भने।
केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १०० रुपैयाँ उठाउँदै आएको छ।
सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रूपैयाँ संकलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्न पनि एमालेले तहगत कमिटीलाई निर्देशनसमेत दिएको छ।
यस्तै, थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी पार्टी केन्द्रमा पठाउन पनि एमालेले निर्देशन दिएको छ।
संगठन विभागका अनुसार एमालेको संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्। उनीहरूबाट सय रूपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो।
भूकम्पले खण्डहर बनाएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको थियो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव थिए।
अधिकारी प्रधानमन्त्री र नेपाल परराष्ट्रमन्त्री बनेका थिए।
पार्टीका दुई शीर्षस्थ नेता सरकारमा गएकाले वामदेव गौतम कार्यवाहक महासचिव तोकिएका थिए। उनैको नेतृत्वमा त्यो भवन बनेको थियो।
यसबीचमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा भवन निर्माण उपसमिति समेत बनाएर रकम संकलन गरेको थियो। भवन निर्माण प्रक्रिया भने अघि बढेन।
बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गा रहेको एमालेले बताएको छ।
एमालेले २०७२ अगाडि नै बल्खु पार्टी कार्यालयका लागि अपुग भएको भन्दै पार्टी कार्यालय सार्ने कार्ययोजना तयार पारेको थियो। तत्कालीन महासचिव ईश्वर पोखरेलले त्यो कार्ययोजना पेश गरेका थिए।