नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारबाट बहिर्गमन भएको तीन महिना भयो। सरकारबाट बाहिरिएपछि उनले बुधबार पहिलोपटक सम्पादकहरूसँग सामूहिक भेटघाट कार्यक्रम राखे।
सुरूमा करिब ८ मिनेट पहिराले मुलुकमा पुर्याएको क्षति, सरकारको उपस्थिति र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा खेलेको भूमिकाबारे व्याख्या गरेपछि प्रचण्डले देशको राजनीतिक मुद्दाहरूका बारेमा पनि खुलेर कुराकानी गरे।
छलफल अवधिभर एमालेप्रति आक्रामक देखिएका अध्यक्ष प्रचण्डले सत्ताकै अर्को साझेदार दल कांग्रेसबारे समेत उच्चारण समेत गरेनन्। कतिपय विषय खुलस्त र कतिपय कुरा रणनीतिक रूपमा उठाएका अध्यक्ष प्रचण्डले मुख्यतः ६ विषयमा आफ्ना धारणा राखेका छन्।
'एमालेको उद्देश्य संविधान संशोधन होइन खारेजी हो'
अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा राम्रा काम गर्न थालेपछि रातारात सरकार परिवर्तन गरिएको र संविधान संशोधनको कुरा बाहनामात्रै भएको बताए। उनले सरकार परिवर्तन गर्दा एउटा विषय त सार्वजनिक गर्नुपर्यो भन्ने आधार बनाएर संविधान संशोधनको कुरा ल्याइएको टिप्पणी गरे। एमालेले संविधान संशोधन भन्दा पनि खारेज गर्न खोजेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाए। ‘एमालेका साथीहरूलाई नै यो संविधान घाँडो लाग्छ, उहाँहरूले संविधान उद्देश्यभन्दा बाहिर गएको ठान्नुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘एमालेका साथीहरूको उद्देश्य संविधान संशोधन हैन, खारेजी हो।’
उनले २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधान खारेजीको प्रक्रिया सुरू गरेको पनि बताए। ‘हिजोको सदन विघटन सदन विघटन होइन संविधान विघटनको सुरूवात हो,’ उनले भने,‘एमालेका साथीहरूलाई समावेशी, संघीयता र गणतन्त्र मन परेको छैन। बयलगाढावाला सिद्धान्त हो उहाँहरूको।’
एमालेले संविधानमा सुरूदेखि अन्त्यसम्म नै माओवादीको अनुहार देख्ने गरेको आरोप पनि अध्यक्ष प्रचण्डले लगाए। उनले अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। ‘संविधान संशोधनभन्दा अहिले ध्यान दिनुपर्ने कुरा संविधान कार्यान्वयनको हो। प्रदेशलाई दिने अधिकार दिन हिचकिच्याउने। संघीयता कार्यान्वयनका लागि बनाउन लागेका कानूनहरू बन्न नदिने। अनि काम भएन भन्ने! हलो अड्काएर गोरू चुट्न खोज्ने!’ अध्यक्ष प्रचण्डले भने,‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंग पनि हो। यसमाथि खेलवाड गरिए राम्रो हुँदैन।’
'यो सरकार संकटमा छ'
अध्यक्ष प्रचण्डले वर्तमान सरकारबारे केही बोल्दिनँ भन्दाभन्दै टिप्पणी भने गरेका छन्। ‘मैले अहिले मुलुकको आन्तरिक राजनीतिक संकटमा जान उचित ठानेको छैन,’ प्रचण्डले भने,‘तर यो सरकारमा संकट छैन भन्ने चाहिँ हैन। संकट त छ।’
उनले संसदको पहिलो र दोस्रो पार्टीले सरकार बनाउने कुरा नै संकटको चुरो भएको उद्घोष गरे। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेबीच संविधान संशोधनको विषयमा कुराकानी भएको भए आफूले समेत थाहा पाउने बताए। ‘जनताको अपेक्षाका कारण गठबन्धन फेरिँदै थियो भने भन्न डराउन पर्दैनथ्यो। उहाँहरूले बेइमानी गर्नुभयो,’ अध्यक्ष प्रचण्डले भने,‘यतिधेरै बेइमानीबाट सरकार बनाउने कुरामा म धेरै टिप्पणी गर्दिनँ।’
उनले अहिले सत्ता फेरबदलमा लाग्ने पक्षमा आफ्नो पार्टी नरहेको समेत स्पष्ट पारे।
'केपी ओली सहकारी छानबिन समिति बनाउने पक्षमा थिएनन्, रवि लामिछाने थिए'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको बचत अपचलन, दुरूपयोग, ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताएका छन्।
उनले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको बताएपछि सरकार पछि हटेको आफूले सुनेको बताए।
‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ,’ उनले भने।
उनले यही संविधान, लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिने बुझाइमा आफू रहेको पनि बताए।
‘त्यसकारण यो विषयमा मेरो बुझाइ के मात्रै हो भने यही संविधान, यही लोकतन्त्रअन्तर्गत जन्मिएका पार्टीहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने ढंगले होइन तिनीहरूलाई उचित सम्मान दिएरमात्रै लोकतन्त्रलाई सुदृढ गर्न सकिन्छ,’ उनले भने।
उनले आफू सरकारमा हुँदा रास्वपा लगायत नवोदित दललाई संरक्षण गरेर जानुपर्ने विषयमा तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गहिरो छलफल गर्ने गरेको बताए।
‘जसरी जनतामा प्रमुख पार्टीहरूको काम कारबाहीप्रतिको असन्तुष्टिको अभिव्यक्ति त्यहाँ भयो, त्यसलाई चाहिँ कुनै नै हिसाबले संरक्षण गर्नुपर्छ भनेर नेपाली कांग्रेस र हामी सरकारमा हुँदा त्यसबारेमा धेरै छलफल हुन्थ्यो। धेर नै छलफल गर्थ्यौं,’ उनले भने।
उनले सहकारीसँग सम्बन्धित विषय उठेपछि आफूले तत्कालीन सुरक्षा निकायका प्रमुखलाई सोधेको पनि बताए। उनीहरूले रास्वपा सभापति लामिछानेको सहकारीको बचत अपचलन, ठगीमा कुनै संलग्नता नदेखिएको बताएपछि त्यही कुरा सदनसमक्ष बोलेको पनि बताए।
‘तिनवटै सुरक्षा अंगका प्रमुख र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिमलाई नै, अनि सम्बन्धित ठाउँका सबै प्रतिनिधिहरूलाई पनि सोधेको थिएँ। भोलि संसदमा बोल्नुछ। भोलि बोल्दा प्रतिरक्षा गरेर बोल्ने कि के गरेर बोल्न भनेर समस्या परेको छ। कमजोरी छ, तपाईंहरूले केही कैफियत देख्नुभएको छ भने भन्नुहोला, म त्यहीअनुसार बोल्छु भनेको थिएँ। उहाँहरूले अहिलेसम्म केही छैन भनेपछि मैले त्यही बोलेको हुँ। त्यो प्रतिरक्षा, बचाउ भयो कि के भयो त्यो तपाईंहरूले देखिराख्नुभएकै छ,’ उनले भने।
त्यतिबेला नेकपा (एमाले)को नेतृत्व तथा अहिलेका प्रधानमन्त्री संसदीय छानबिनको विपक्षमा रहेको बताए। बरु रवि लामिछानेले संसदीय छानबिन समिति छिटो बन्नुपर्यो भनेको पनि बताए।
‘संसदीय छानबिन समिति जुन बनाइयो, यो बनाएको कुरा तपाईंहरूले बुझ्नुभएकै होला, छानबिन समिति बनाउनुहुँदैन भन्ने मत थियो, खासगरी एमाले नेतृत्वको। केपीजी त यो छानबिन समिति बनाउनै हुँदैन भनेर अन्तिम समयसम्म रिजर्भ हुनुहुन्थ्यो। निर्णय हुने बेला उहाँ बैठकबाट उठेर पनि जानुभएको थियो। मेरो सहमति छैन भन्नुभएको थियो। रवि लामिछानेचाहिँ छिटो बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। मेरो बारेमा छानबिन समितिन बनोस्। छानबिन समिति बनाउनुहुन्न भन्नुको अर्थ दिनप्रतिदिन संसदमा बदनाम गर्ने पो हुन थाल्यो, त्यतिबेला,’ उनले भने।
अहिले प्रतिवेदनले लामिछानेले आफै संलग्न भएर सहकारीको बचत अपचलनको आरोप प्रमाणित गर्न नसके पनि गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित कुरामा केही प्रश्न उठाएको बताए।
‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौं। मैले सार्वजनिक रूपमा भनेको छु’ उनले भने।
'पूर्वराजाको भुटान भ्रमण संकटको संकेत हो'
अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन्।
तर त्यो संकट कहाँ पुगेर फरकाष्ट हुन्छ आफूले अहिले नै भन्न नसक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। ‘यो आन्तरिक राजनीतिक संकटको निरन्तता हो,’ प्रचण्डले भने,‘तर मुलुकमा फेरि राजा फर्केर राजा फर्केर आउने संभावना छैन। पूर्वराजा र उनको परिवारका कारण पनि राजा फर्कन सम्भव छैन।’
केही दिनअघि भुटान भ्रमण गरेर आएका पूर्वराजालाई उनी भुटानमा रहँदा त्यहाँको राजपरिवारले राजकीय सम्मान दिएको थियो।
'एमालेसँगको समीकरणमा चुक्यौं, गठबन्धनबारे गम्भीर भएर छलफल गर्छौं'
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी सम्भव भएसम्म एक्लै प्रतिस्पर्धामा जाने बताए। कहिले कोसँग, कहिले कोसँग गठबन्धन गर्दा माओवादीको पहिचान नै संकटमा परेकोजस्तो भएको उनले बताए। ‘चुनावमा गठबन्धन गर्नेबारे पार्टीभित्र गम्भीर समीक्षामा छौं हामी। पछिल्लो समय एमालेसँगको समीकरणमा हामी चुकेका छौं। समीकरणको नियत त राम्रो थियो तर परीणाम राम्रो आएन,’ उनले भने।
अध्यक्ष प्रचण्डले यसपालि चुनावमा एक्लै लड्ने मुख्य कुरा भएता पनि समाजवादी मोर्चामा रहेकाहरूले तालमेल गरौं भने तालमेल हुन सक्ने बताए।
'विपदमा सरकार चुक्यो तर गाली गर्ने पक्षमा छैन'
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अप्ठ्यारो घडीमा आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताए। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षात् र त्यसले निम्त्याएको विपत्तिमा सरकारको भूमिका कमजोर भएको जन गुनासो रहेको उनको भनाइ थियो।
‘म अहिले बाहिर भन्दा पनि यो अप्ठ्यारो घडीमा सरकारलाई गाली गर्नतिर होइन सरकार अझ बढी सतर्क होस् भन्नेमा छु,’ उनले भने, ‘सरकारबाट जति बढी भूमिका निर्वाह गर्नुपर्थ्यो, पुगेन भन्ने गुनासो छ,’ उनले भने।
विपत्तिका सुरूका दिन त सरकारका तर्फबाट धेरै नै कमजोरी भयो भन्ने गुनासो रहेको प्रचण्डको भनाइ छ। ‘विपत्तीको एक सातासम्म सरकार कतै देखिएन,’ अध्यक्ष प्रचण्डले भने ‘तर अब चाहिँ त्यसलाई समीक्षा गरेर सक्रियतापूर्वक काम गर्नुपर्यो।’
उनले संकटको सामना सबै मिलेर गर्नुपर्छ भन्ने नै आफ्नो नीति रहेको स्पष्ट पारे। उक्त विपत्तिमा परेर हाल सम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ। अझै १८ जना जना बेपत्ता छन्।