नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विपदका बेला सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।
काठमाडौंमा मंगलबार कांग्रेसका भ्रातृ संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूसँगको छलफलमा महरले बाढीपहिरो र डुबानका बेला सरकारको उपस्थिति कमजोर देखिएको बताएका हुन्।
जनतालाई दु:ख परेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने पनि बताए। ‘जनतालाई दु:ख परेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भए पनि यो अहम जिम्मेवारी बहन गर्न किन सकिरहेको छैन?,’ उनले प्रश्न गरे।
असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा मानिसहरूको मृत्यु भएको, अर्बौंको क्षति भएको र जनता बिचल्लीमा परेको पनि उनले बताए।
‘यस्तो संवेदनशील बेलामा सरकारको कमजोर उपस्तिथि देखियो। विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य भित्र समेत अप्ठ्यारो स्थिति सृजना भएको छ। मर्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यान दिनुपर्दछ,’ उनले भने।
कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले बाढीपहिरो र डुबानले क्षति पुर्याएका शैक्षिक संस्था पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताए।
उनले हवाईभाडा पनि वृद्धि भइरहेकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। चाडपर्वको समयमा आम नागरिक महँगी, कालोबजारी, कृतिम अभाव, र ठगीमा पर्ने स्थिति देखा परेको पनि उनले बताए।
उनले भ्रातृ संस्थाहरूको महाधिवेशन चैतभित्रै गर्न आफूले पनि पहल गर्ने बताए।