प्यालेस्टिनी अतिवादी समूह हमासले ठ्याक्कै एक वर्षअघि इसराइलमाथि हमला गरेको थियो। गजाबाट सुरू भएको त्यो युद्ध अहिले इसराइलको उत्तरी सीमापारि लेबननमा चलिरहेको छ।
त्यति बेला हमासले ३०० भन्दा बढी इसराइली सैनिक र दर्जनौं विदेशी नागरिकसहित लगभग १२ सय जनाको हत्या गरेको थियो। गजा नजिकै कृषि फार्ममा काम गर्ने १० जना नेपाली विद्यार्थी पनि मारिएका थिए।
हमासले विदेशीसहित करिब २५० जनालाई बन्दी बनाएर गजातर्फ लगेकोमा नेपाली नागरिक विपिन जोशी अझै रिहा भएका छैनन्।
हमासले आक्रमण गरेको भोलिपल्टै इरानबाट परिचालित हिजबुल्लाह समूहले पनि इसराइलमाथि रकेट हान्न थाल्यो। त्यो हमला हमासकै समर्थनमा लेबननबाट गरिएको थियो।
त्यसपछि इसराइल गजामै छिरेर हमासमाथि जाइलाग्यो र गजालाई ध्वस्त नै पार्यो। हजारौं बालबालिका र महिलासहित करिब ४१ हजार प्यालेस्टिनी मारिए। यसले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरूद्ध युद्ध अपराधको मुद्दा लागेको छ। सुरूआत हमासले गरेको भए पनि यो युद्धबाट इसराइलको अन्तर्राष्ट्रिय छवि बिग्रेको छ। नेतन्याहुले भर्खरै राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दा धेरै देशका प्रतिनिधिले हल छाडेर बहिष्कार गरेका थिए। अमेरिका लगायत पश्चिमा राष्ट्रले पनि नेतन्याहुलाई गजामा युद्धविराम गर्न लगातार दबाब दिइरहेका छन्।
इसराइलले भने अन्तर्राष्ट्रिय विरोध र दबाब बेवास्ता गर्दै गजामा विध्वंश मच्चाइरहेकै छ। उत्तरी सीमाबाट विस्थापित ६० हजारभन्दा बढी इसराइलीलाई घर फर्किने वातावरण बनाउन हिजबुल्लाहमाथि पनि जाइलागेको छ। हिजबुल्लाहलाई उत्तरी सीमा नजिकबाट धपाउन इसराइली सेना लेबननभित्रै छिरेका छन्। लगातारको इसराइली बमबारीबाट जोगिन १० लाखभन्दा बढी लेबननी घर छाडेर भागेका छन् भने २ लाखभन्दा बढी सिरिया पसेका छन्।
यसबीच ३२ वर्षदेखि हिजबुल्लाह प्रमुख रहेका हसन नसरल्लाहलाई इसराइलले मारेपछि इरानले इसराइलमाथि मिसाइल आक्रमण सुरू गरेको छ।
एक वर्षयताका यी घटनाक्रमको विवरणपछि अब हामी युद्धका मुख्य पात्रहरूले किन यस्तो कदम चाले र यो युद्ध कसरी अघि बढ्ला भन्नेबारे चर्चा गरौं।
सन् २०२३ सेप्टेम्बर १५ मा सुरू यहुदी सम्बत् ५७८४ इसराइलका लागि युद्धमै बित्यो। यो युद्धमा इसराइली प्रधानमन्त्री नेतन्याहुले चाहेजस्तो हमासमाथि पूर्ण विजय हासिल नभए पनि हमास धेरै कमजोर भइसकेको छ। इसराइलको दीर्घकालीन सुरक्षाका लागि हमासभन्दा धेरै ठूलो खतरा हिजबुल्लाह थियो। केही सातायता जसरी हिजबुल्लाहमाथि नोक्सानी पुग्यो, त्यो इसराइलका लागि ठूलो सफलता मानिएको छ।
तर यहुदी नयाँ वर्ष ५७८५ को अघिल्लै दिन इरानले इसराइलमाथि करिब १८० ब्यालेस्टिक मिसाइल प्रहार गर्यो। यो आक्रमणमा वेस्ट बेंकमा एक प्यालेस्टिनीबाहेक कसैको ज्यान गएन। इसराइलका भौतिक संरचनामा पनि खासै ठूलो क्षति पुगेन। तर इरानी मिसाइल खसाल्न प्रयोग भएका इसराइली र अमेरिकी मिसाइल धेरै महँगा थिए। त्यसले इसराइल र अमेरिकाको खर्च धेरै भयो।
यसरी एक वर्षदेखि जारी हमास र इसराइलको युद्धमा अहिले इरान प्रत्यक्ष जोडिन पुगेको छ। हुन पनि यो युद्धका मुख्य पात्र सुरूदेखि इसराइल र इरान नै थिए। सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ।
हिजबुल्लाह भनेको सिया समुदायको समूह हो भने प्यालेस्टिनीहरू मुख्यतः सुन्नी हुन्। आपसमै लड्ने सिया र सुन्नी समूह इसराइलसँगको साझा शत्रुताका कारण मात्रै सहकार्य गर्छन्। सिया-बहुल देश भए पनि इसराइलसँग लड्न हतियार दिने भएकाले सुन्नी हमासले इरानसँग सहकार्य गरेको हो।
सहकार्य गरे पनि हिजबुल्लाहले जस्तो इरानको हरेक कुरा हमासले मान्दैन। त्यसैले हमासले इरानलाई पूर्वजानकारी नदिई अक्टोबर ७ मा इसराइलमाथि हमला गरेको मानिन्छ। त्यति बेला हमासका गजा प्रमुख याह्या सिन्वर र सैन्य कमान्डर मोहम्मद देइफले शीर्ष नेता इस्माइल हनियेलाई समेत जानकारी नदिई उक्त हमला गरेका थिए भनिन्छ। इसराइलले देइफ र हनियेको हत्या गरिसकेको छ। हनियेपछि सिन्वर नै अहिले हमास प्रमुख छन्।
अहिले इरानले विभिन्न समूह र सिरियालाई प्रयोग गरेर इसराइलविरूद्ध घेराबन्दी गर्न खोजे पनि इरान र इसराइलको पहिल्यैदेखि शत्रुता थिएन।
यहुदीका लागि बेग्लै देश इसराइल घोषणा हुँदा सबै मुस्लिम देशले विरोध गरेका थिए। तर शाह-पहलवी वंशले शासन गरेको इरानले सुरूमा समर्थन गरेको थियो। सन् १९४८ मा इसराइललाई स्वतन्त्र देशको मान्यता दिने अमेरिका पहिलो राष्ट्र बन्यो। त्यति बेला अमेरिकासँग राम्रो सम्बन्ध भएकाले इरान इसराइललाई मान्यता दिने दोस्रो राष्ट्र बन्यो।
तर सन् १९७९ को इस्लामिक क्रान्तिमा शाह-पहलवी वंशलाई सत्ताच्यूत गरेर कट्टरपन्थीहरूले शासन गर्न थालेपछि अमेरिका र इसराइल दुवैको शत्रु बन्यो, इरान।
इसराइलसँग आणविक हतियार भएकाले इरानले पनि पछिल्ला दशकमा आणविक हतियार बनाउन खोजिरहेको छ। सद्दाम हुसेनका पालामा इराकसँग आमविनाशकारी हतियार छ भन्ने बहाना देखाएर अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले सन् २००३ मा इराकमाथि हमला गरेका थिए। त्यति बेला आफूमाथि पनि हमला होला भन्ने डरले इरानले आणविक कार्यक्रम रोकेको थियो। पछि बिस्तारै उक्त कार्यक्रम सुरू गर्यो।
बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा राष्ट्रसंघीय सुरक्षा परिषदका पाँच स्थायी सदस्य (अमेरिका, रूस, चीन, फ्रान्स र बेलायत) र जर्मनीले सम्झौता गरेर नाकाबन्दी केही खुकुलो पारेको बदलामा इरानले आणविक कार्यक्रम फेरि रोकेको थियो।
ओबामापछि राष्ट्रपति बन्नेबित्तिकै डोनाल्ड ट्रम्पले उक्त सम्झौता एकतर्फी भंग गरेपछि इरान फेरि आणविक हतियारको गन्तव्यतर्फ लम्किइरहेको छ।
अब हामी पछिल्लो एक वर्षमा यो युद्ध किन यसरी अघि बढ्यो भन्ने विश्लेषण गरौं।
हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा हुन लागेको साउदी अरेबिया र इसराइलको सम्झौता बिथोल्न अक्टोबर ७ को हमला गरेको मानिन्छ।
इसराइलले प्यालेस्टिनी समस्या थाती राखेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा बहराइन र संयुक्त अरब इमिरेट्ससँग सन् २०२० मा अब्राहम सम्झौता गरेको थियो। पछि मोरक्को र सुडानसमेत सम्झौतामा जोडिए। त्यो सम्झौता आफूलाई इस्लामको अभिभावक ठान्ने साउदी अरेबियाको सत्ता चलाइरहेका युवराज मोहम्मद बिन सलमान अर्थात् 'एमबिएस' को अनुमतिमा गरिएको मानिन्छ।
यी सबका पछाडि सन् २०१८ अक्टोबरको एउटा घटना जोडिन्छ। त्यति बेला टर्कीस्थित साउदी महावाणिज्य दूतावासमा एक साउदी एजेन्टले वासिङ्टन पोस्टका स्तम्भकार जमाल खसोग्जीको हत्या गरे। यसले एमबिएससँग रूष्ट बाइडेन अर्को महिना हुने राष्ट्रपतीय निर्वाचनअघि साउदी र इसराइलबीच सम्झौता गराउन चाहन्थे। अझै पनि चाहन्छन्।
एमबिएसका नजरमा बलियो इसराइलसँग राम्रो सम्बन्ध राख्नु आर्थिक मात्र होइन, सामरिक रूपमा पनि महत्त्वपूर्ण छ। उनको मुख्य माग इरानबाट हुन सक्ने हमलाविरूद्ध अमेरिकी सैन्य सुरक्षाको ग्यारेन्टी हो।
इसराइली प्रधानमन्त्री नेतन्याहुलाई पनि साउदीसँगको सम्झौताको महत्त्व थाहा थियो। त्यसैले उनी सम्झौता गर्न आतुर थिए।
बाइडेन यो सम्झौताको बदलामा प्यालेस्टिनी समस्या समाधानका लागि इसराइलबाट केही दिलाउन चाहन्थे। अहिले गठबन्धनमा रहेका अतिवादीले त्यो सम्झौता नमान्ने भएकाले नेतन्याहुले गठबन्धन तोडेर, मध्यमार्गी विपक्षीसँग मिलेर भए पनि राष्ट्रिय हितको त्यो सम्झौता गराउँछन् भन्ने बाइडेनको आकलन थियो।
इसराइललाई साथ दिने भएकाले इसराइलले प्यालेस्टिनीमाथि गर्ने अत्याचारको नैतिक दोष अमेरिकालाई पनि जान्छ। त्यसैले बाइडेन साउदीसँगको सम्झौताको लोभ देखाएर भए पनि यो समस्या समाधान गर्न चाहन्थे।
साउदी र इसराइलको सम्झौता भए यहुदी राज्यको अस्तित्व नै स्वीकार नगर्ने हमासलाई झन् अप्ठ्यारो पर्थ्यो। अरब राष्ट्रको समर्थनबिना इसराइलबाट यहुदी लखेटेर भू-मध्य सागर र जोर्डन नदीबीचको सारा भूमि समेटेर प्यालेस्टाइन राज्य बनाउने सपना कुनै हालतमा पूरा हुँदैनथ्यो। त्यसैले साउदी र इसराइलको सम्झौता रोक्न हमासले गत वर्षको हमला गरेको मानिन्छ।
सुन्नी मुसलमान रहेको साउदी र सिया मुसलमान रहेको इरानबीच धेरै पहिलेदेखि दुस्मनी छ। गत वर्ष मात्रै चीनको मध्यस्थतामा साउदीसँग इरानको सम्बन्ध सुधारको पहल सुरू भए पनि त्यो प्रक्रिया धेरै गाह्रो छ। आफ्ना दुई मुख्य शत्रु साउदी र इसराइलको सम्बन्ध अर्को प्रमुख शत्रु अमेरिकाको अग्रसरतामा सुधार नहोस् भनेर इरानको पनि त्यसमा स्वार्थ मिल्यो।
इसराइलसँगको शत्रुतामा इरान र हमासको स्वार्थ मिले पनि दुवैका बाझिने स्वार्थहरू पनि छन्। इरानको सहयोगमा इसराइलविरूद्ध हमाससँग सहकार्य गरे पनि सिन्वरले सोचेजस्तो इरान परिचालित समूहहरूले साथ दिएनन्। आफूले हमला गरेपछि लेबननबाट हिजबुल्लाह, यमनबाट हुथी र इराकबाट विभिन्न समूहले एकैपटक आक्रमण गरेर इसराइललाई धराशायी पार्ने उनको विश्वास थियो। तर हिजबुल्लाहले सिन्वरले सोचेजस्तो साथ दिएन।
हुथी समूह त अलिक पर छ र धेरै शक्तिशाली पनि छैन। हिजबुल्लाहसँग भने विश्वकै सबैभन्दा शक्तिशाली गैरराष्ट्र सेना छ। हमासको समर्थनमा अक्टोबर ७ को भोलिपल्टैदेखि हिजबुल्लाहले रकेट प्रहार गर्न थाले पनि त्यसअघिको अघोषित सहमति पालना गर्यो। इसराइलले गजामा युद्ध नरोकिउन्जेल लगातार प्रहार गरिरहने भने पनि शक्तिशाली र राम्रो निशाना भएका मिसाइल प्रयोग गरेन। सर्वसाधारणलाई निशाना पनि लगाएन। इसराइलले पनि छिटपुट हिजबुल्लाहका लडाकू मारे पनि अघोषित सहमति पालना गर्यो।
आणविक हतियार नबनाउन्जेल इरानका लागि हिजबुल्लाह भनेको इसराइलबाट जोगाउने सबभन्दा ठूलो सुरक्षा ग्यारेन्टी हो। इसराइलले आफूमाथि प्रहार नगरोस् वा कदाचित् इसराइलसँग युद्ध नै भए एकैपटक कहर बर्साउन जम्मा पारेको हतियार हमासका लागि खर्च गर्न हिजबुल्लाहलाई इरानले अनुमति दिएन। इसराइलमाथि कडा प्रहार गर्दा हिजबुल्लाहका ती हतियारको संख्या कम हुने र इसराइलको जबाफी कारबाहीमा नष्ट पनि हुन सक्ने इरानले बुझेको थियो। त्यसैले हिजबुल्लाहले पूरा तागत लगाएर इसराइलमाथि प्रहार गरेन।
हिजबुल्लाहले राम्ररी साथ नदिएपछि इसराइलले सारा ध्यान गजामा लगाएर हमासमाथि जाइलाग्न पायो। हमासले इसराइलमाथि प्रहार गर्न सकेन र हजारौं लडाकू गुमायो।
इसराइलले सारा गजा तहसनहस पारेर महिला-बालबालिकासहित दसौं हजार सर्वसाधारण मारे पनि अमेरिका लगायत पश्चिमा राष्ट्र र अरब राष्ट्रले चाहेजस्तो हमासले दीर्घकालीन युद्धविराम गर्न मानेन। यसमा भने सिन्वर र नेतन्याहु दुवैको स्वार्थ मिल्यो।
कट्टरपन्थीहरूको समर्थनमा सत्तामा रहेका नेतन्याहुलाई युद्धविराम भए प्रधानमन्त्री पद जाने र त्यसपछि भ्रष्टाचारको मुद्दामा जेल नै जाने खतरा छ। त्यसैले सेनाले गजामा युद्धविराम गरेर थकाइ मार्नुपर्छ भने पनि र बन्धक फिर्ता ल्याउने व्यापक जनदबाब भए पनि उनले बेवास्ता गरेका हुन्।
अर्कातिर हमासको कब्जामा रहेका करिब १०० जना इसराइली बन्धकमध्ये एक-तिहाइभन्दा बढी मारिइसकेको इसराइलको ठम्याइ छ। त्यसैले युद्धविराम गरे पनि सबै बन्धक जिउँदै फिर्ता नआउने भएकाले पनि नेतन्याहुले युद्धविराम नगरेका हुन सक्छन्।
उता युद्धविराम भए पनि अक्टोबर ७ को हमलाका लागि इसराइलले आफूलाई ढिलो-चाँडो मार्छ भन्ने सिन्वरले बुझेका छन्। सिन्वरले युद्धविरामपछि पनि अहिलेजस्तै सुरूङमै लुकेर बस्नुपर्ने हुन्छ। युद्ध चलिरहे इसराइलले झन् धेरै प्यालेस्टिनी सर्वसाधारणको हत्या गर्नेछ र अन्तर्राष्ट्रिय समुदायमा झन् एक्लिँदै जानेछ भन्ने पनि सिन्वरले बुझेका छन्।
इसराइलले कस्तो जबाफ दिन्छ भन्ने राम्ररी बुझेका उनले प्यालेस्टिनी सर्वसाधारणको ज्यानको माया लाग्ने भए अक्टोबर ७ मा त्यस्तो भयानक हमला नै गर्ने थिएनन्। हमला गरेर घना बस्ती, अस्पताल, स्कुल, मस्जिद लगायत सार्वजनिक संरचनामुनि रहेका सुरूङमा लुक्ने थिएनन्। हरेक सर्वसाधारण प्यालेस्टिनीको हत्या गर्दा इसराइलको छवि झन् बिग्रने भएकाले उनका लागि फाइदा नै हुन्छ।
यसरी अहिले जारी गजा युद्धका मुख्य कर्ता नेतन्याहु र सिन्वर दुवैलाई युद्ध चलिरहँदा नै फाइदा छ।
अब इसराइल किन लेबननमा रहेको हिजबुल्लाहमाथि आक्रामक भयो भन्नेबारे चर्चा गरौं।
यसमा हामीले ख्याल गर्नुपर्ने सबैभन्दा मुख्य कुरा भनेको इसराइलको लेबनन र लेबननी जनतासँग दुस्मनी छैन। प्यालेस्टिनीसँग जस्तो भूमि विवाद पनि छैन। र प्यालेस्टिनीमाथि अत्याचार र दमन गरेजस्तो लेबननीलाई केही गर्दैन। लेबननमा रहेको हिजबुल्लाहले इरानको इसारामा लगातार इसराइलमाथि आक्रमण गरेकाले मात्रै इसराइलले लेबननमा आक्रमण गर्ने गर्छ।
त्यसैले गजामा सैन्य कारबाही जारी राख्नेबारे इसराइलभित्र मतभिन्नता रहे पनि हिजबुल्लाहलाई तह लगाउनेबारे सर्वसम्मतिजस्तै छ। हिजबुल्लाहसँग त्यति धेरै हतियार भएकाले र सन् २००६ मा लेबननभित्र छिरेर हमला गर्दा पनि आशातीत सफलता नपाएको तीतो अनुभवले मात्रै इसराइल रोकिएको थियो।
गत वर्ष हमासले अक्टोबर ७ मा हमला गरेको भोलिपल्टैदेखि हिजबुल्लाहले इसराइलमाथि रकेट प्रहार गर्न थालेपछि अक्टोबर ११ मा इसराइलले लेबननमा आक्रमण गर्नै लागेको थियो। त्यति बेला हिजबुल्लाहसँग युद्ध गरे हमासमाथिको कारबाही प्रभावकारी नहुने र इरानसमेत तानिएर ठूलो युद्ध हुने खतरा देखाएर अमेरिकाले सम्झायो। त्यसैले इसराइलले लेबननमा आक्रमण गरेन र हिजबुल्लाहसँगको अघोषित सहमति पालना गरिरह्यो।
जुलाई २७ मा हिजबुल्लाहको रकेट हमलामा परेर 'भूलवश' इसराइलको गोलन हाइट्समा १२ केटाकेटीको ज्यान गएपछि इसराइलले त्यसको बदला लिन हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। त्यसको बदला लिन अगस्ट २५ मा हिजबुल्लाहले इसराइलमाथि आक्रमण गर्यो। इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको भन्दै पहिलो चरणको बदला सफलतापूर्वक सकिएको हिजबुल्लाहले बताएको थियो।
उता इसराइलले शुक्रको हत्याको बदला लिइँदैछ भन्ने थाहा पाएर त्यो दिन बिहानै हिजबुल्लाहले भन्दा अगाडि नै लेबननमा हमला गरेको थियो। करिब सय लडाकू विमानबाट लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा हमला गरेको इसराइलले बताएको थियो। त्यति बेलासम्म इसराइल हिजबुल्लाहसँगको तनाव थप बढाउन चाहँदैन थियो भन्ने मानिन्छ।
त्यत्रो हतियार भएको हिजबुल्लाहसँग ढिलोचाँडो लड्नैपर्ने भए पनि इसराइली सैनिक नेतृत्व तत्काल युद्धमा जान चाहँदैन थियो। गजामा पनि युद्धविराम गरेर थकाइ मार्ने र नयाँ योजना बनाउने उनीहरूको योजना थियो।
हमाससँग युद्धविराम गर्न नचाहे पनि हिजबुल्लाहसँग भने नेतन्याहुले सुलह गर्न खोजेका थिए। तर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले गजामा युद्धविराम नभइन्जेल रकेट आक्रमण जारी राख्ने बताएकाले इसराइल आक्रामक भएको मानिन्छ। यस अर्थमा अक्टोबर ७ पछि सारा शक्तिसहित इसराइलमाथि जाई नलागेको बदला सिन्वरले हिजबुल्लाहसँग युद्धविराम नगरेर लिएको पनि मान्न सकिन्छ।
यसरी सिन्वरको ढिपीका कारण हिजबुल्लाहले यत्रो वितण्डा भोग्नुपर्यो। नसरल्लाह र उनीमुनिका कैयौं वरिष्ठ नेता र कमान्डरहरू मारिए।
हिजबुल्लाहसँग लड्नैपर्ने इसराइलले ठम्याएको भए पनि यो आक्रमण योजनाबद्ध रूपमा सुरू नभएको मानिन्छ। हिजबुल्लाह सदस्यले बोकेका पेजर एकैपटक विस्फोट गराउँदै इसराइलले पछिल्लो शृंखला सेप्टेम्बर १७ मा सुरू गरेको थियो। अमेरिकी अनलाइन 'एक्सियस' का अनुसार इसराइलले पेजर विस्फोट त्यति बेला गर्न चाहेको थिएन। आफूले पेजरमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउन सक्ने ठानेर त्यत्रो मिहिनेत खेर नजाओस् भनेर मात्रै इसराइलले विस्फोट त्यसै दिन गराएको भनिन्छ। विस्फोट गराउने भएपछि भने हिजबुल्लाहले त्यसको जबाफ दिन नसकोस् भनेर रन्थनिएको बेलामा लगातार प्रहार गर्न थाल्यो।
हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए।
इसराइली प्रधानमन्त्री नेतन्याहुले समेत हिजबुल्लाहको लगातार हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित ६० हजारभन्दा बढी इसराइली नागरिकलाई घर फर्किने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका थिए। इसराइलले त्यसको भोलिपल्ट हिजबुल्लाह सदस्यले बोकेका वाकीटकी त्यसरी नै विस्फोट गरायो।
पेजर र वाकीटकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेको मौका छोपेर इसराइलले लगातार प्रहार गर्यो। पेजर विस्फोट गराएको तीन दिनपछि बेरूतको एक घरमा बैठक गरिरहँदा मिसाइल आक्रमण गरेर हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबीलाई मार्यो। सञ्चार प्रणाली इसराइलले ह्याक गरेको ठानेर बैठक गरिरहेका हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका ती कमान्डरहरू मारिएका थिए।
त्यसपछि इसराइलले हिजबुल्लाहभित्र व्यापक घुसपैठ गरेकाले बैठकहरू पनि सुरक्षित हुन छाडे। अकिल र वाहबी मारिएको एक सातापछि सेप्टेम्बर २७ मा हमास प्रमुख नसरल्लाह र बाँकी रहेका कैयौं वरिष्ठ नेता र कमान्डर पनि त्यसरी नै बैठक गरिरहँदा इसराइली हमलामा मारिए।
नसरल्लाहलाई मार्नेबारे इसराइलले अमेरिकालाई पूर्व जानकारीसमेत दिएको थिएन। युद्ध भड्किने डरले अमेरिकाले उनलाई मार्ने अनुमति नदिने र उल्टै त्यस्तो योजनाबारे मिडियामा सूचना चुहाउने खतराका कारण इसराइलले पूर्वसूचना नदिएको मानिन्छ। युक्रेनले पनि रूसविरूद्धका आफ्ना कतिपय महत्त्वाकांक्षी योजना अमेरिकाले रोकेको र कतिपय योजनाको सूचना मिडियामा चुहाएको गुनासो गर्ने गरेको छ।
नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित भएर जोगिएका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि इसराइलले मारिसकेको अपुष्ट समाचार आएका छन्। नसरल्लाहका भाइ सफिइद्दिन (उनीहरूका आमाहरू दिदी-बहिनी हुन्) हिजबुल्लाहका नयाँ प्रमुख हुने अपेक्षा गरिएको थियो। सफिइद्दिनसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को विदेशी समूह परिचालन गर्ने कुद्स फोर्सका प्रमुख जनरल इस्माइल घानी पनि शुक्रबारदेखि सम्पर्कविहीन रहेका समाचारहरू आएका छन्।
इसराइलले नसरल्लाहको हत्या गरेपछि त्यसको र तेहरानमा भएको हनियेको हत्याको बदला भनेर इरानले अक्टोबर १ मा इसराइलमाथि करिब १८० ब्यालेस्टिक मिसाइल प्रहार गर्यो।
हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो।
इरानको पछिल्लो आक्रमणबाट इसराइलमा खासै नोक्सानी नभए पनि त्यसको इसराइलले कडा जबाफ दिने अपेक्षा गरिएको छ। इसराइलले कडा जबाफ दिए इरान-इसराइल युद्ध हुने खतरा फेरि बढेको छ।
इसराइललाई सघाउन अमेरिका आउने बुझेको इरान अरू बेलै पनि इसराइलसँग युद्ध चाहँदैन थियो। अहिले हिजबुल्लाह लगातारको इसराइली प्रहारका कारण त्यति कमजोर भएका बेला त झन् चाहँदैन। तैपनि हनियेको हत्याको बदला नलिएको र अहिले नसरल्लाहको हत्याको पनि जबाफ नदिए इसराइलले झन् हेप्ने भएकाले इरान जबाफ दिन बाध्य भयो।
अहिले पनि बदला नलिए हौसिएर इसराइलले इरानभित्रै पनि प्रहार गर्न सक्ने डर इरानलाई थियो। नसरल्लाहको हत्यापछि इसराइली खतराका कारण इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सुरक्षा अझ कडा पारेको बताइन्छ। हनियेको हत्या र अहिले हिजबुल्लाहभित्र इसराइलको व्यापक घुसपैठ गरेकाले आफ्नोमा पनि त्यस्तै घुसपैठ भएको भनेर इरान डराएको छ। इसराइलका लागि काम पो गरिरहेको हो कि भनेर आपसमा इरानी अधिकारीहरूले शंका गर्छन्।
आफ्नो इसारामा ज्यान खतरामा राखेर जोसँग पनि लड्ने र आफूद्वारा परिचालित हिजबुल्लाहलाई त्यत्रो संकट पर्दा पनि चुप लागेर बस्न नहुने नैतिक दबाब पनि इरानलाई परेको हुन सक्छ। चुप लागेर बसे हिजबुल्लाह लडाकूले फेरि आफूले भनेको नमान्ने खतरा पनि इरानलाई थियो।
अब इसराइलले इरानी हमलाको जबाफ कसरी देला र घटनाक्रम कसरी अघि बढ्ला भनेर चर्चा गरौं।
इरानले अप्रिलमा गरेकोभन्दा यसपटक कडा आक्रमण गरेकाले इसराइलले पनि कडा जबाफ दिने अपेक्षा गरिएको छ।
गत अप्रिल १ मा इसराइलले सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा कुद्स फोर्सका जनरल मोहम्मद रेजा जाहेदीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
त्यसको जबाफ दिँदै अप्रिल १३ मा इरानले थुप्रै मिसाइल र ड्रोनहरूबाट इसराइलमाथि आक्रमण गर्यो। इसराइलले भने खास नोक्सान नहुने गरी इरानमा आक्रमण गरेर सांकेतिक जबाफ मात्रै दियो। त्यो बेला पनि इसराइलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाएको थियो। तर अमेरिका लगायत देशको दबाबपछि सांकेतिक आक्रमण मात्रै गर्यो।
अहिले पनि त्यति बेलाको जस्तै सांकेतिक आक्रमण मात्र गर्न अमेरिकाले मनाउन सक्ने छैन। यस्तोमा इरानको तेलखानी, विद्युत् आयोजना वा अरू कुनै पूर्वाधार संरचना वा आणविक भट्टीमै इसराइलले प्रहार गर्न सक्ने छ।
तेल खानीमा हमला गरे अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्ने छ। इरानलाई अमेरिकाले नाकाबन्दी लगाए पनि उसले चीनलाई तेल बेचिरहेको छ। उसै पनि इरानले इसराइलमा आक्रमण गरेपछि लगातार ओरालो लागिरहेको तेलको भाउ बढ्न थालेको छ। इरानको तेलखानीमा हमला गरे भाउ झन् बढ्ने छ।
अमेरिकाले साउदी अरेबियासँग कुरा गरेर उत्पादन बढाउन लगाए इरानको तेल खानीमा आक्रमण गरे पनि भाउ धेरै नबढ्न सक्छ। सिया इरानसँग लामो दुस्मनी भएको सुन्नी साउदी हमासलाई पनि उति मन पराउँदैन। हमास सुन्नी भए पनि सिया इरानको इसारामा चल्न थालेकाले मन नपराउने साउदीले सिया हिजबुल्लाहलाई मन पराउने झन् कुरै भएन।
साउदी मात्र नभएर अरू सुन्नी अरब राष्ट्रहरूका लागि पनि हिजबुल्लाह टाउको दुखाइको विषय बनिसकेको थियो। त्यसैले नसरल्लाहको हत्या गरेर उक्त समूहलाई कमजोर बनाएकाले भित्र-भित्रै इसराइलसँग खुसी छन्। साउदी एक्लैले इरानले अहिले प्रतिदिन उत्पादन गरिरहेको लगभग २००००० ब्यारेल जति उत्पादन बढाउन सक्छ। तर अमेरिकासँग मिलेर इरानमा तेलखानीमा आक्रमण गरेको प्रभाव कम गर्न उत्पादन बढाए इरानले साउदी तेलखानीमा आक्रमण गर्न सक्छ।
त्यसैले साउदीले अमेरिकासँग मिलेर उत्पादन बढाउने सम्भावना कम छ। साउदीले उत्पादन नबढाए पनि इरानले आफ्नो तेलखानीमा हमला गरेको बदलामा साउदी र अरू अरब राष्ट्रका तेलखानीमा आक्रमण गर्न सक्छ। यस्तो भए तेलको भाउ धेरै बढ्नेछ।
तेलको भाउ धेरै बढेर अमेरिकी उपभोक्ता र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे एक महिनापछि हुने निर्वाचनमा हालका राष्ट्रपति बाइडेनको दलकी उम्मेदवार कमला ह्यारिसले हार्न सक्ने छिन्। त्यसैले इरानी तेलखानीमा आक्रमण गर्न अमेरिकाले रोक्ने सम्भावना छ।
आणविक भट्टीमै आक्रमण गरे झन् इरानले जबाफमा युद्ध नै छेड्न सक्ने खतरा रहन्छ। इरानसँग इसराइलको युद्ध भए आफू पनि तानिने भएकाले अमेरिका अहिले इरानसँग युद्ध चाहँदैन। तर अमेरिकाले नचाहे पनि लगातार अमेरिकाले भनेको नमानेर आक्रामक कदम चलाइरहेका नेतन्याहुले फेरि पनि अटेर गरेर आणविक भट्टीमै हमला गर्न सक्नेछन्।
अमेरिकाले भनेजसरी गजामा युद्धविराम नगरेर र अरू धेरै कुरामा अमेरिकाको बेइज्जत हुने गरी नेतन्याहुले लगातार अटेर गरेका कारण बाइडेन सरकारका अधिकारीहरू उनीसँग रूष्ट छन्। केही भने नसरल्लाहको हत्या गरेको र विगतमा सयौं अमेरिकी सैनिकको आतङ्ककारी आक्रमण गरेर हत्या गरेको हिजबुल्लाहलाई कमजोर पारेकोमा उनीसँग खुसी छन् भनेर केही अमेरिकी मिडियाले लेखेका छन्।
नसरल्लाहको हत्या गरेकोमा केही अधिकारीहरू खुसी भए पनि इसराइलले इरानसँग युद्ध हुने गरी कडा जबाफ दिन्छ कि भन्नेबारे अमेरिकी सरकार सचेत छ।
इरानले इसराइलमाथि हमला गरेर युद्ध सुरू नहोस् भनेर अमेरिकाले थप सेना र युद्धपोतहरू त्यसतर्फ पठाएको छ। तर त्यसको आडमा हौसिएर नेतन्याहुले झन् आक्रामक भएर इरानसँग युद्ध सुरू गर्न सक्ने खतराबारे अमेरिकी रक्षा अधिकारीहरूले छलफल गर्न थालेको भनेर 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ। थप अमेरिकी सैन्यशक्ति नजिकै भएका बेला इरानमाथि कडा हमला गरे इरानले कडा जबाफ दिए पनि अमेरिकाले जोगाउने छ भनेर इसराइल ढुक्क हुने उनीहरूको ठम्याइ छ।
इसराइल-प्यालेस्टिनी द्वन्द्वले आगामी राष्ट्रपति चुनावमा पार्नसक्ने प्रभावका कारण पनि बाइडेन सरकारलाई अप्ठ्यारो छ। इसराइलले गजामा जति अमानवीय कार्य गरे पनि अझै अमेरिकाका अधिकांश जनता इसराइलकै पक्षमा छन्। आफूले भनेको नमानेका कारण बाइडेनले इसराइललाई दिइरहेको सहयोग नदिए ह्यारिसले चुनाव हार्न सक्ने छिन्।
अहिलेको जस्तो इसराइलको गम्भीर मानवअधिकार उल्लंघनको घटनाका बाबजुद सहयोग गरिरहे पनि उनलाई सुख छैन। त्यस कारण बाइडेनको आफ्नो छवि मात्रै खराब भएको छैन, ह्यारिसले राष्ट्रपति निर्वाचित हुन जित्नैपर्ने प्रतिस्पर्धात्मक राज्यमध्ये एक मिसिगनमा हार्न सक्ने छिन्। डेमोक्रेटिक पार्टीलाई भोट हाल्ने गरेका त्यहाँका मुस्लिम मतदाताले रिसाएर भोट हाल्न नगए वा उल्टो ट्रम्पलाई भोट हाले ह्यारिसले त्यहाँ हार्न सक्ने छिन्। त्यसैले इसराइलले इरानलाई कस्तो जबाफ दिने भन्नेबारे निर्णय गर्न अमेरिकालाई पनि गाह्रो छ।
गत वर्ष हमासको हमला रोक्न नसकेको र बन्धक बनाइएका इसराइलीलाई फिर्ता ल्याउन नसकेका कारण बिग्रिएको नेतन्याहुको छवि हिजबुल्लाहविरूद्धको पछिल्लो सफलताले सुध्रिएको छ। हुन त हमासको आक्रमणको जिम्मेवारी आफूले नलिएर सुरक्षा निकायलाई दोष दिएकाले अहिलेको सफलताको श्रेय लिन पनि उनलाई मिल्दैन। तर पनि उनले पछिल्लो सफलताको श्रेय लिइरहेका छन्। अहिलेको सफलताबाट हौसिएर इरानलाई समेत तह लगाएर इसराइलको इतिहासकै महान् प्रधानमन्त्रीहरूमा दरिन उनले इरानमाथि धेरै कडा हमला गर्ने सम्भावना पनि छ।
कमजोर भएका हिजबुल्लाह र हमासले इसराइललाई अहिले खासै अप्ठ्यारो पार्न नसक्ने र इरानले आणविक हतियार पनि बनाइ नसकेकाले इरानमाथि प्रहार गर्ने सबैभन्दा उपयुक्त समय पनि यही हो।
अहिले इसराइलले जस्तो जबाफ दिए पनि पछिल्लो साताका घटनाक्रमले दुइटा ठूलो परिवर्तन भने आएको छ।
पहिलो, उत्तरी सिमानामा त्यत्रो हतियार लिएर इसराइललाई आक्रमण गर्न इरानी इसारा कुरिरहेको हिजबुल्लाह धेरै कमजोर भएको छ। यो दीर्घकालीन इसराइली सुरक्षाका लागि राम्रो हो।
दोस्रो, हिजबुल्लाह कमजोर भएकाले अब इरानले छिट्टै आणविक हतियार बनाउन भरमग्दुर प्रयास गर्नेछ। आणविक हतियार नबनाइन्जेल इसराइलले आफूलाई आक्रमण नगरोस् भनेर उसको घाँटीमा इरानले हिजबुल्लाहरूपी तरबार झुन्ड्याएको थियो। त्यो तरबार भुत्ते भएपछि अब उसले सारा ध्यान आणविक हतियार बनाउनमा लगाउने छ।
इसराइलले यति नबुझ्ने कुरै भएन। हिजबुल्लाह लगायत समूहलाई अहिले रक्षात्मक प्रयोजनका लागि प्रयोग गरेको इरानले आणविक हतियार बनाएपछि आक्रामक प्रयोजनका लागि उपयोग गर्नेछ भन्ने इसराइलको ठम्याइ छ। त्यसो भए आफ्नो अस्तित्व नै खतरामा पर्न सक्छ भन्ने उसको बुझाइ छ।
कतिले इरानी सर्वोच्च नेता खामेनीको फतवा देखाएर इरानले आणविक हतियार नबनाउने दाबी गर्छन्। कतिपय इरान विज्ञले भने त्यस्तो फतवा नै जारी नभएको तर्क गर्छन्। खामेनीले कहिल्यै त्यसबारे फतवा जारी नगरेको र खाली भाषणमा मात्र आणविक हतियारविरूद्ध बोलेको औंल्याउँछन्। उनले ती भाषणमा आणविक हतियारको प्रयोग 'हराम' भएको भनेको तर आणविक हतियार बनाउनु हराम नभनेकोमा उनीहरू जोड दिन्छन्।खामेनीको आणविक हतियारविरूद्धको भनिएको फतवाको कुरा अमेरिका लगायत पश्चिमा राष्ट्रलाई झुक्याउन मात्रै प्रचार गरिएको बताउँछन्।
उसो त आणविक हतियारविरूद्ध खमेनीले फतवा जारी नै गरेको भए पनि उनले त्यो फिर्ता लिएर बाटो खुला गर्न सक्नेछन्। त्यसैले अहिले नै आणविक भट्टीमा आक्रमण नगरे पनि भविष्यमा चाँडै नै इसराइलले त्यसबारे निर्णय लिनुपर्ने हुन्छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)
सम्बन्धित समाचार:
इजरायल-प्यालेस्टाइन द्वन्द्वको नालीबेली
हिजबुल्लाह र इसराइलबीच दुश्मनीको नालीबेली