प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामबारे आइतबार सुझाव दिएको छ।
सत्ता साझेदार दलसमेत रहेको कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख (पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिक) समेत हस्तान्तरण गरेको छ।
पार्टी सभापति देउवाले ३४ बुँदे सुझाव पत्रसहित चेक हस्तान्तरण गरहेका हुन्।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताएका थिए।
प्रधानमन्त्री ओलीले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए।
नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपद्को पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ।
यसैबीच प्रधानमन्त्री उद्धार कोषमा सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पचास लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले उक्त चेक हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताएको उनको सचिवालयले जानकारी दिएको छ।
उनले तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको बताए।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा पचास लाख र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो।
गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरूङ, सचिव रघुबीर महासेठ लगायतका नेताहरू सहभागी थिए।