नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि पेड-इन्टर्नसिप अभियान सञ्चालन गर्दै आएको छ।
अध्यक्ष दुजाङ शेर्पाका अनुसार पेड-इन्टर्नसिप अभियानअन्तर्गत छैटौं चरणको समझदारी पनि भइसकेको छ।
नेविसंघ केन्द्रीय कार्यसमितिको समन्वयमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत कानून संकायका डीन कृष्णप्रसाद बस्यालको उपस्थितिमा नेपाल ल क्याम्पस र विभिन्न १३ वटा प्रतिष्ठित ल फर्मबीच पेड-इन्टर्नसिप सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष शेर्पाले जानकारी दिए।
सो सम्झौतामा नेपाल ल क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्यामबहादुर कार्की र ल फर्महरूको तर्फबाट वरिष्ठ अधिवक्ता, अधिवक्ताले हस्ताक्षर गरेका छन्। नेपाल ल क्याम्पसका एलएलएम, एलएलबी, बिएएलएलबीका विद्यार्थीहरूले इन्टर्नसिपको अवसर प्राप्त गर्ने शेर्पाले जानकारी दिए।
नेपाल कानुनी उपचार केन्द्र, प्रीमियम ल फर्म, बडिमालिका ल कर्नसन्, ग्रीन ल एसोसिएट्स, मालिका कनौनी सेवा सदन, अभिषेक कानून फर्म, क्रिएटिभ लयर्स एसोसिएट्स, शुभप्रभात कानुनी सेवा सदन, ग्रीन ल्याण्ड कानून एसोसिएट्स, मणिलेक कानून फर्म, आचार्य एण्ड एसोसिएट्स, प्राइम ल एसोसिएट्स, आस्था कानून र अनुसन्धान केन्द्रसँग इन्टर्नसिप सम्झौता गरिएको नेविसंघले जनाएको छ।
यस अभियानले विद्यार्थीहरूलाई अदालती प्रकृया र सीप हासिल गर्न मद्दत गर्नेछ नेविसंघको भनाइ छ। इन्टर्नसिप अनुभवले विद्यार्थीलाई अदालतमा प्रवेश गर्ने मुद्दाहरूको मस्यौदा, अनुसन्धान एवं सिङ्गो कार्यविधिको अभ्यास अवसर दिने पनि अध्यक्ष शेर्पा बताउँछन्।