प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचतकर्ताहरूको बचत फिर्ता गराउन सरकार गम्भीर रहेको बताएका छन्।
सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि उनको भनाइ छ।
सिंहदरबारमा मंगलबार अपराह्न भएको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री ओलीले सहकारीको बचत असुलउपर गरी फिर्ता गराउन सरकार गम्भीर रहेको बताएका हुन्।
‘सहकारी पीडितहरूका कुरा सुन्नुपर्छ, डुबेको रकम फिर्ता हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर कहिले कसो यस्तो भइदिन्छ, केलाई मासु पैँचो भन्ने छ नि! त्यसबेला रकम उफ्रिउफ्रि लियो, खायो। अब त्यसलाई फिर्ता कसरी ल्याउने भन्ने कुरा अध्ययन भइराखेको छ।’
सहकारीका बचत रकम केहीले उडाएको उल्लेख गर्दै उनले त्यो कतिपय बचत असुलउपर हुनै नसक्ने अवस्थासमेत रहेको देखिएको बताएका छन्।
‘कतिसम्म असुलउपर गराउन सकिन्छ, कानून हेर्नुपर्यो। सरकार त कानूनअनुसार अघि बढ्छ, सामाजिक सञ्जालमा बोलिदिनेलाई जस्तो सरकारलाई त सजिलो छैन,’ उनले भने।
उनले अहिले बाढीपहिरोको विपद रहेको र सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘विपदका बेला सहकारीका कुरा गर्यो भने बाढीपहिरो आएको छ सहकारीको कुरा गर्ने भन्लान्, नगरौं भने विपदका मौकामा सहकारी बिर्सिन खोज्या भन्ने पनि होला,’ उनले भने, ‘सरकारी बचत फिर्ता गराउन सरकार गम्भीर छ।’
यो पनि:
बाढीपहिरोले १७ अर्बको क्षति
यसप्रकारको वर्षा र क्षति होला भन्ने सोचिएको थिएन: प्रधानमन्त्री ओली