उमेर हदलाई लिएर नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) मा धकेलाधकेल देखिएको छ।
काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा सोमबार उमेर हदका विषयमा विवाद देखिएको हो।
सम्मेलनमा आएका प्रतिनिधिले कुर्सी फालाफाल पनि गरेका छन्।
अखिल (क्रान्तिकारी) ले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी गरेको थियो।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेर हदको तयारी गरेको थियो।
२८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो।
उमेर हद लागू गरेमा अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एक जना महासचिव कोही पनि उम्मेदवार हुन पाउँदैनन्।