नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्।
बाढी—पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले आइतबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। बैठक माओवादी केन्द्र संसदीय दल कार्यालयमा बस्नेछ।
‘नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले अविरल वर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ,’ उनको सचिवालयले भनेको छ।
बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकासहित, कोशी, मधेस, बागमतीमा गरी १०० जनाको मृत्यु, ६५ बेपत्ता र ४० जना घाइते छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।
बाढी पहिरोबाट कोशी प्रदेशमा १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्।
बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।