नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वहरू लक्षित गरेर सरकारलाई चार बुँदे ध्यानाकर्षण बुझाएको छ।
एमालेको विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागले सरकारलाई राजमार्ग, सडक मर्मत गर्नुपर्ने, खाल्डाखुडी पुर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको हो।
विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरू यसै महिनाको अन्तिम सातादेखि धमाधम आइरहेका छन्। यी चाडहरू जनताले धुमधामसँग मनाउने गर्छन्। जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण होस्,’ एमालेको ध्यानाकर्षण पत्रमा भनिएको छ।
एमालेले दसैं र तिहारमा राजधानी काठमाडौंबाट र यसरी नै देशका मुख्य सहरहरुबाट अत्यधिकरूपमा नागरिकहरू स्थायी बसोवास तथा पुर्ख्यौली थलोतर्फ बाहिरिने भएकाले तत्काल सडकहरूको मर्मत गर्न र खाल्डाखुल्डी पुर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘धुलो नउड्ने बनाउन बिहान, दिउँसो, साँझ पानी छर्कने व्यवस्था गरियोस्। यातायातको साधन अभाव हुन नदिन वैकल्पीक उपायको समेत बन्दोबस्त मिलाइयोस्। सुरक्षा प्रबन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गरियोस्। यसक्रममा यात्रुहरुको ठूलो पंक्तिका निम्ति गाडीहरूको सहज पबन्ध गरियोस्,’ ध्यानाकर्षणमा भनिएको छ।
त्यस्तै उत्पन्न हुन सक्ने सम्भावित दुर्घटनाहरू र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरुको प्रबन्ध मिलाउन र यी चाडपर्वहरूमा यात्रारत जनताको सुविधाको सडकका होटलहरूमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीय होस्, यात्रुहरू नठगिउन, खाना खाजाकी उचित मूल्य होस् भनेर यसको निम्ति सरकारी नियमनकारी निकायहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारको ध्यानकर्षण गराएको छ।
चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रणको निम्ति तत्काल अनुगमनकारी संयन्त्रहरुलाई परिचालन गर्न पनि एमालेले भनेको छ।
देशभरी जनपहुँचका ठाउँहरुमा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न; दाल, चामल, घिउ, तेल, चिनी, तरकारी, फलफुल र मासुजन्य वस्तुहरु सर्वसुलभ र सुपथ मूल्यमा प्राप्त हुने वातावरण बनाउन पनि ध्यानाकर्षण गराइएको छ।
चाडपर्वहरूको उल्लासमय वातावरणमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी जस्ता कृयाकलाप रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि माग गरिएको छ।
एमाले विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभाग प्रमुख खिमलाल भट्टराईसहितको टोलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।