परराष्ट्र मन्त्री आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छिन्।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु बढी समस्यामा परिरहेकाले सहयोगको मात्रा बढाउनुपर्ने मन्त्री राणाले बताइन्।
‘कोभिड-१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनीतिक तनाव आदिका कारण यी देश पीडित भएका छन्,’ संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन्।’
अतिकम विकसित मुलुकहरुको संगठन, एलडीसीको अध्यक्षका हैसियतले परराष्ट्रमन्त्री डा राणाले बुधबार न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गरेकी हुन्। नेपाल हाल एलडीसीको अध्यक्ष छ।
‘एलडीसी मुलुकहरुमा समावेशी आर्थिक बृद्धि गर्न, ‘२०३० एजेण्डा’ लाई गति दिन, स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमहरुलाई प्रभावकारी बनाउन, डिजीटल डिभाइडको अवस्थालाई कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक प्रकृतिका समस्याहरूलाई कम गर्न जि‐२० मा आबद्ध राष्ट्रहरुको सहयोग महत्वपूर्ण हुनेछ,’ मन्त्री राणाले भनिन्।