नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको विवाद मिलेको छ। पार्टीका संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद थियो। विवादका कारण पार्टीको नियमित बैठक बस्न सकेको थिएन।
सुदूरपश्चिम प्रदेशमा छुट्टाछुट्टै संसदीय दलको नेता बनाउनेदेखि कारबाहीसम्म चलेको थिएन।
तर सोमबार रेशम–रञ्जिताबीच विवाद मिलेको केन्द्रीय सदस्य एवम् टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले जानकारी दिए।
‘उहाँहरूबीच विवाद मिलेर महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाइएको छ,’ उनले भने।
उनकाअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यको बैठक आगामी असोज १८ र १९ गते बस्नेछ।
‘रेशम र रञ्जिताको विवादले पार्टी ठप्प हुन पुग्यो। छोटै समयमा उदाएको पार्टी सुस्ताएझैं भएको थियो। नागरिकहरूको यत्रो आकांक्षा छ, खाली विवाद छ भन्दा सन्देश पनि राम्रो गएको थिएन। विवाद मिलेपछि अब पार्टीले गति लिन्छ,’ उनले भने।
उनकाअनुसार निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरे पनि र रेशमबारबे अदालतमा मुद्दा विचाराधीन रहेकाले पार्टीको अध्यक्षता दुवैले गर्नेछन्। निर्णय प्रक्रियामा दुवैले हस्ताक्षर गर्नेछन्।
‘अहिले बैठक पनि रेशमले महाधिवेशनबाट निर्वाचित अध्यक्षको हैसियतले बैठकको अध्यक्षता र निर्णय प्रक्रियाको नेतृत्व गर्नुहुनेछ। निर्वाचन आयोगले महाधिवेशनबाट निर्वाचित समितिलाई वैधानिकता दिन अस्वीकार गरिदिएकाले संस्थापक अध्यक्षको हैसियतले रञ्जिताको पनि त्यसमा समान सहभागिता रहनेछ। अहिले पार्टी यसैगरी चल्नेछ। आम नेता–कार्यकर्ताको चाहना पनि यही हो,’ उनले भने।
केन्द्रीय सदस्यलाई पठाइएको पत्रमा आपसी मतभेदलाई मत्थर पारी हामी एक हौं र एक रहनेछौं भन्ने सन्देशसहित बैठक बोलाइएको उल्लेख छ।
‘हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी हामी एक हौं र एक रहनेछौं भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतीमा यही असोज १८ र १९ गते काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेसित गरिएको छ,’ पत्रमा भनिएको छ।
पार्टी महासचिव गंगाराम चौधरीले पनि विवाद समाधान भएको र पार्टीले गति लिने बताए। ‘विवाद साम्य भएको छ। यसको विकल्प पनि थिएन। अब पार्टीले गति लिन्छ,’ उनले भने।
