नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नजिकिएसँगै अध्यक्षका आकांक्षीहरूको दौडधुप पनि सुरू भएको छ।
अनेरास्ववियु क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा असोज १० गतेदेखि सुरू हुँदैछ। क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार यसपटक खुला प्रतिस्पर्धाबाट विद्यार्थीको नेतृत्व चयन हुनेछ।
मधेसबाहेक अरू प्रदेशको अधिवेशन सकेको अनेरास्ववियु क्रान्तिकारीका नेताहरू पार्टीका शीर्ष नेताहरूको गुटअनुसार उम्मेवारी दिने तयारीमा छन्।
अहिलेसम्म अनेरास्ववियुका १९ जना उपाध्यक्ष र एक जना महासचिव गरी २० जनाले अध्यक्षमा दाबी गरेका छन्। तर, चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
उपाध्यक्षहरू पवन कार्की, मदन भुल र नरेश रेग्मी तथा महासचिव दिपेश पुनलाई पार्टीका पदाधिकारीहरूकै समर्थन छ।
पञ्चा सिंहलाई पार्टीले क्रान्तिकारीको अध्यक्ष बनाएपछि नै असन्तुष्टि जनाउँदै लामो समय समानान्तर कमिटी चलाएका पवन कार्कीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थन छ।
मदन भुल उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन्। उनलाई क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पनि समर्थन गरेकी छन्।
विद्यार्थी संगठनमा शर्मा पक्ष बलियो मानिन्छ। उपाध्यक्ष नरेश रेग्मीलाई पार्टी उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरूङले समर्थन गरेका छन्। शैक्षिक सुधारको बहस चलाइरहेका रेग्मी विद्यार्थीहरूमाझ लोकप्रिय मानिन्छन्।
यस्तै, महासचिव दिपेश पुनलाई उपमहासचिव वर्षमान पुनको समर्थन छ। तर पुन सहकारी र सुन प्रकरणसहित विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएकाले उनलाई अध्यक्ष बनाउन हुँदैन भन्ने आवाज बलियो छ। स्रोतकाअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कसलाई समर्थन गर्ने भन्नेबारेमा टुंगोमा पुगिसकेका छैनन्। अध्यक्ष प्रचण्डले समर्थन गरेका उम्मेदवार बलियो हुने सम्भावना रहन्छ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सिंहले भने यसपालि चुनावी प्रक्रियाबाटै क्रान्तिकारीको अध्यक्ष चयन हुने बताउँछिन्।
‘हामीले आधारभूत तहदेखि नै निर्वाचनको कार्यविधि तय गरेका हौं। त्यसैले चुनाव हुने सम्भावना धेरै छ,’ सिंहले सेतोपाटीसँग भनिन्, ‘नोमिनेसनमा गएपछि कतिको उम्मेदवारी पर्छ, त्यसलाई व्यवस्थापन गरेर लैजानुपर्छ।’
उनले सबै पदाधिकारीहरूले जिम्मेवारी पूरा गरेर आएकाले सबै जना अध्यक्षको उम्मेदवारका लागि काबिल भएको बताइन्। २ हजार ३२३ जना सहभागी हुने सम्मेलनले ३३ जना पदाधिकारी र २४३ जनाको केन्द्रीय कमिटी चयन गर्नेछ।
कुन प्रदेशमा को बलियो?
अनेरास्ववियु क्रान्तिकारीमा सात प्रदेश र एउटा उपत्यका विशेष गरी ८ वटा प्रदेश कमिटी छ।
ती ६ वटा प्रदेशमा चुनाव भइसकेको छ। कोशी प्रदेशमा अध्यक्ष चयन भएका चन्द्रबहादुर माङ्मु उपमहासचिव जनार्दन शर्मा पक्षका हुन्। उनी प्रदेशमा संसदीय दलका नेता इन्द्र आङ्बोको जोडबलमा सर्वसम्मतले अध्यक्ष चयन भएका हुन्। बागमतीमा पनि शर्मा पक्षका अर्जुन पौडेल निर्वाचित भएका छन्। यस्तै कर्णाली प्रदेशमा निर्वाचित भएका मानसिंह शाही पनि शर्मा निकट मानिन्छन्।
गण्डकी र लुम्बिनीमा भने उपमहासचिव वर्षमान पुन निकट निर्वाचित भएका छन्।
प्यूठानका पुष्कर शर्मा अनेरास्ववियु क्रान्तिकारी लुम्बिनी प्रदेशका अध्यक्ष छन्। उनी पछिल्लो समय नेता वर्षमान पुन निकटका मानिन्छन्। अध्यक्ष बन्नकै लागि शर्माले नेता जनार्दन शर्माको गुट त्यागेको स्रोत बताउँछ।
यस्तै गण्डकी प्रदेशको भदौ २३ र २४ मा भएको अधिवेशनबाट अध्यक्षमा त्रिदेव गुरूङको पूरै प्यानल निर्वाचित भयो। गुरूङ माओवादी नेता वर्षमान पुन समूहले उठाएको प्यानल हो। माओवादीका अर्का नेता जनार्दन शर्मा प्रभाकरको पक्षबाट उठेका आरके भट्टराईको प्यानल नै पराजित भएको छ।
सुदूरपश्चिममा निर्वाचित भएका प्रदेश समिति अध्यक्षमा वीरबहादुर थापा भने पुन र शर्मा दुबैतिर नखुलेका नेता हुन्।
मधेस र उपत्यका प्रदेशको सम्मेलन राष्ट्रिय सम्मेलनपछि
गुटगत विवादले अनेरास्ववियु क्रान्तिकारी मधेस प्रदेशको सम्मेलन राष्ट्रिय सम्मेलनपछि हुने भएको छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव शर्मा र पुन निकटका विद्यार्थी नेताहरूबीच समन्वय तथा सहमति हुन नसकेपछि प्रदेश सम्मेलन टरेको हो।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निकट रहेका अनेरास्ववियु क्रान्तिकारी मधेस प्रदेशका प्रमुख सचिव जुबेर आलम, उपाध्यक्ष शिवराज धमला लगायतका पदाधिकारीले हार्ने डरले सम्मेलन गर्न नचाहेको केन्द्रीय सचिव सञ्जय महतोको आरोप छ।
उनी उपमहासचिव शर्मा निकटका विद्यार्थी नेता हुन्। मधेस प्रदेशमा उपमहासचिव शर्मा निकट रौतहटका कुन्दन महतो, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निकट शिवराज धमला र पुन निकट राजेश पटेल प्रदेश अध्यक्षको दाबेदार हुन्। मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्मा समूहबीच मुख्य प्रतिस्पर्धा छ।
'हाम्रो गुटका कुन्दनजी जित्ने देखेर नारायणकाजी र वर्षमान समूहले सम्मेलन गराउन आनाकानी गरेका हुन्। अब राष्ट्रिय सम्मेलनपछि मात्रै प्रदेश सम्मेलन हुन्छ,' शर्मा निकटस्थ सचिव महतोले भने।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले भने प्रदेश अध्यक्षको परीक्षा भएका कारण प्रदेश सम्मेलन पछि सरेको बताइन्। यस्तै उपत्यका विशेष प्रदेशमा पनि राष्ट्रिय सम्मेलनपछि मात्रै सम्मेलन गर्ने सिंहले बताइन्।