कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले परिणाम दिने गरी काम गर्न आग्रह गरेका छन्।
सहरी विकास मन्त्रीसमेत रहेका उनले कर्मचारीहरूसँगको छलफलमा नतिजा दिने गरी काम गर्न र कुनै समस्या भए समाधानका लागि पहल गरिने बताएका हुन्।
उनले मन्त्रालयअन्तर्गत कुन-कुन आयोजनामा काम ढिलासुस्ती भएको छ भन्नेबारे ब्रिफिङसमेत लिएका थिए।
‘कुन आयोजनाको अवस्था के छ? समस्या के छ भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो। टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर काम गर्न पनि उनले आग्रह गरेका छन्।
कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल विभागका प्रमुख र आयोजना प्रमुखहरूलाई नतिजामुखि हुने गरी काममा लाग्न आग्रह गरेका थिए।